धमाधम तीज गीतका छायांकन।

काठमाडौं := गएको वर्ष र यसवर्ष कुनै पनि गीतसंगीतका भिडियो छायांकनका लागि सहज वातावरण छैन । विशेषगरी कोरोना भाइरसको संक्रमणका कारण जारी निषेधाज्ञा अझै पनि हट्न सकेको छैन । काठमाडौं उपत्यकामा केहि खुकुलो भएपछि अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी छ । यसका कारण पनि म्युजिक भिडियोहरू छायांकन हुन सकिरहेका छैनन् ।

यसै सातादेखि काठमाडौं उपत्यकामा भने निषेधाज्ञामा खुकुलो गरिएको छ । सवारीसाधनको हकमा जोरबिजोर प्रणाली लागूभएको छ । यसकारण पनि नेपाली चलचित्र तथा गीतसंगीतको क्षेत्र विस्तारै चलायमान हुँदै छ । यसै सातादेखि म्युजिक भिडियोका छायांकन धमाधम हुन थालेका छन् । सवारीसाधन चल्ने अनुमति पाएपछि कलाकारहरू आफ्नौ दैनिकी काममा फर्किन थालेका हुन् । यस वर्षको आउँदो तीज पर्वका लागि गीत रेकर्डिङ र छायांकनमा कलाकाररु व्यस्त देखिन्छन् । विशेषगरी लोक तथा दोहोरी गीत क्षेत्रका कलाकारहरू निकै व्यस्त छन् किनकी तीजपर्वका लागि वर्षेनी हजार बढी गीतहरू बन्ने गर्छन् । तर गतवर्ष भने कोरोनाको असरले पाँच सयको आसपासमा गीत सार्वजनिक भएका थिए । यसवर्ष कोरोनाको असरले पनि तीज गीत कम बन्ने देखिएको छ ।

तीज गीतको भिडियो छायांकनका लागि विशषेगरी जनशक्ति धेरै जाहिने भएकाले यसअघि अर्थात् निषेधाज्ञा खुकुलो भएपछि सवारीसाधन चलाउने अनुमति नपाउँदा भिडियो छायांकन हुन सकेका थिएनन् । म्युजिक भिडियोको क्षेत्रमा अत्यधिक भिडियो निर्देशन गर्ने निर्देशकको लिष्टमा पर्ने काजिस श्रेष्ठले कोरोना संक्रमणको असरका कारण यसवर्षको तीज गीतको छायांकन गएको मंगलबारबाट मात्र सुरु गरेको बताउनुभयो । उहाँले ललितपुरको श्रीकाली चौरमा ‘बतासैले’ बोलको तीज गीतको छायांकन गरिएको बताउनुभयो ।

रमेश परियारको लय तथा शब्द रहेको गीतमा वसन्त थापा र अमृता नेपालीको स्वर छ भने भिडियोमा दुर्गेश थापा र गीता ढुंगानासहित दर्जनौं कलाकारहरूको अभिनय छ । काजिसले भिडियो आउँदो साताभित्रै सार्वजनिक गरिने बताउनु भएको छ । यस्तै अर्का व्यस्त निर्देशक शंकर बिसीले पनि तीज गीतको छायांकन सुरु भइसकेको र अब सार्वजनिक गर्नेबेला भएको बताउनु भएको छ ।

शंकरले निर्देशन गरेको ‘कुरा काटन’बोलको गीत छिट्टै रिलिज गर्ने भन्दै पोष्टर सार्वजनिक गर्नुभएको छ । एक दिनअघिमात्रै ‘नक्कली नभन्नु बरिलै मलाई’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । यस्तै गुरुआमा फिल्मसले ‘झोला लुकाउन’बोलको गीत सार्वजनिक गरिसकेको छ । यस्तै पशुपति शर्मा र सम्झना भण्डारीको ‘काले ज्वाइँसाप’बोलको गीत पनि सार्वजनिक भइसकेको छ ।