स्लोभाकियामा हवाई कारको सफल परीक्षण।

एजेन्सी := स्लोभाकियामा हवाई कारको एउटा मोडेल परीक्षण गरिएको छ । स्लोभाकियाको दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको हो । आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बिएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ । यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार एक हजार किलोमिटरसम्म आठ हजार २ सय फिटको उचाइमा उड्न सक्छ । यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ ।

कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेण्ड समय लाग्छ। यसका छोटा पखेटा बन्द भएर कारको दुईतर्फ टाँसिएर रहन सक्छ । सोमबार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भन्नुभएको छ । क्लेनले दुई वर्ष लगाएर २० लाख युरोभन्दा कम खर्चमा एयर कार निर्माण गरेको बताउनुभएको छ ।