घान दिवस वा रोपाइँ महोत्सव मनाइरहँदा।

[ लेखक : गीता अधिकारी ] 

‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष पनि १८औं राष्ट्रिय धान तथा रोपाइँ महोत्सवको आयोजना गरिएयो । गतवर्ष जस्तै यसवर्ष पनि कोरोना सुरक्षा मापदण्ड अपनाउँदै रोपाइँ महोत्सव आयोजना भए ।

कृषिप्रधान देश भनेर चिनिएको हाम्रो देशमा हरेक वर्ष मध्यअसार तथा असार पन्ध्रलाई धानदिवसको रूपमा मनाउँने गरिन्छ । सरकारले यस दिवसलाई विविध कार्यक्रमसहित देशका सबै जिल्लामा मनायो । उसो त असार पन्ध्रलाई नेपालमा किसानहरूले विशेष दिन ‘असार पन्ध्र’ को रूपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रबद्र्धन तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले २०६० सालदेखि हरेक वर्ष असार पन्ध्रलाई धान दिवसको रूपमा मनाउँदै आएको हो ।

धान हाम्रो प्रमुख खाद्य बाली हो । नेपालमा सबैभन्दा धेरै खेती गरिने बालीका रूपमा धान पहिलो स्थानमा पर्छ । राष्ट्रको कूल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठूलो महŒव राख्छ । कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व रहिआएको हो ।

खेतीका लागि उपयुक्त मौसम सुरु भएको दिन असार पन्ध्रलाई रोपाइँ सुरु भएको दिनको रूपमा दहीचिउरा खाएर मनाउने हाम्रो परम्परा रहिआएको छ । रोपाइँ गरी दहीचिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जन विश्वासमा खेतीपाती नहुनेले अरूको खेतमा वा आफ्नै करेसा बारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन् ।

पछिल्लो समय पर्यटकलाई यो अवसरमा संलग्न गराउने थालिएको छ । पोखरा, चितवनलगायत स्थानमा विशेष समारोहको आयोजना गरी धान दिवस मनाउँदै रमाइलो गर्ने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा धान रोप्ने नजिकका स्थानहरूमा पुगेर युवा युवतीले रमाइलो गर्ने गरेका छन् । तर, यस्ता विशेष समारोहलाई कोरोना संक्रमणले रोकिदिएको छ ।

सिँचाइ सुविधा सबै ठाउँमा उपलब्ध नभएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा किसान आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धान रोप्न व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाइँमा व्यस्त हुनुपरेको हो । साता–पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै किसानका लागि असारको पन्ध्र महŒवको हुन्छ।

लाशलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्दछ भन्ने बूढापाकाको भनाइले पनि यसको महŒव दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पँजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरी खाँदैन भन्ने बूढापाकाको अर्को उखानले असारको महŒवलाई पुष्टि गर्छ ।

रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकट रूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाइ परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन ठूलो टेवा पु¥याउँदै आएको छ । कतै–कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालालाई मसला र रुमाल बाँड्ने प्रचलन छ ।

दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । खेत गह्रामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन् । लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी बाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

किसानका लागि एउटा उत्सव हो यो असार पन्ध्र । यसवर्ष समय अगावै मनसुन सुरु भएकाले रोपाइँको माचोमाच रहेको छ । चालु आर्थिक वर्षमा नेपालमा १४ लाख ७३ हेक्टर जमिनमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः एक प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ । उक्त उत्पादनले नेपालको माग धान्ने भए पनि उपभोक्तामा खाने बानी परिवर्तनका कारण चामल आयात हुने गरेको मन्त्रालयको भनाइ छ ।

आगामी दिन धान उत्पादन वृद्धिका कार्यक्रमसँगै उपभोक्तामा खाने बानीको परिवर्तनका लागि पोषणसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई चामल आत्मनिर्भर बनाउने घोषणा गरेको छ । विगत वर्षमा धानमा आत्मनिर्भरको घोषणाको कार्यान्वयन हुन नसकेको भए पनि अहिले मन्त्रालय योजनाबद्ध कार्यक्रमका साथ अघि बढेकाले अब त्यस्तो नहुने बताइन्छ ।

हाल धानको बिउ र चामल गरी हरेक वर्ष अर्बौं रुपैयाँको आयात हुँदै आएको छ । पछिल्लो समय खेतीप्रति आकर्षण घट्दै गएको अर्को तितो यथार्थ छ । गाउँघर युवाविहीन छन्, दैनिक युवाहरू विदेश पलायन भइरहेका छन् । आफ्नै देशमा पसिना बगाउनुपर्ने युवाशक्ति मरुभूमिमा पसिना बगाउन बाध्य छन् यतिबेला । कृषिप्रधान हाम्रो मुलुकमा खाद्यवस्तु आयात हुँदै आएको छ ।

हाम्रो भान्सामा पाक्ने चामल, तरकारी, दाल, पिठो, माछा, मासु र फलफूल गरी अर्बौंको खाद्यान्न आयात गरिन्छ । यसलाई न्यूनीकरण गर्न र युवाशक्तिलाई देशमै पसिना बगाउन नलगाएसम्म जस्ता दिवस मनाए यी दिवसमै सीमित हुने निश्चित छ । कृषिप्रधान देश जहाँको मुख्य उत्पादन धान, हाम्रो बिहान बेलुकाको खानाका रूपमा भान्सामा आउँने चामलमा परनिर्भरताले हामीलाई कहाँ पु¥याउँला ।

धानलगायत प्रमुख बालीमा आत्मनिर्भरताको अवधारणा अनुुसार नेपाल सरकारले आफ्ना कामहरू गर्न आज धान दिवस मनाइँरहनु जरुरी छ । यसमा प्रविधि, बिउ बिजनलगायत विविध विषयमा ध्यान दिन नसक्दा आयात प्रतिस्थापन हुन नसकेको हाम्रो तीतो यथार्थ हो।