एजेन्सी := इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पिपल्स लिबरेसन फ्रन्ट’ ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दाबी गरेका छन् । यद्यपि इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन ।
तर, युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ । मिकेलीलाई इथियोपियाको सरकारी फौजले गत नोभेम्बरमा विद्रोहीको कब्जाबाट फिर्ता लिएको थियो । टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले मिकेली आफ्नो नियन्त्रणमा आएको एएफपीसँगको कुराकानीमा दाबी गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले प्रधानमन्त्री अबीसँग सोमवार कुरा गर्दै सर्वसाधारणको सुरक्षा र मानवीय सहायता मानिसहरूसम्म पुगेको सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले राजनीतिक समाधान खोज्न प्रधानमन्त्री अबीलाई आग्रह गर्नुभएको छ । इथियोपियामा द्वन्द्वरत सबै पक्षमाथि आमहत्या र मानवअधिकार उल्लंघनको आरोप लागेको छ ।




















