क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) मलेसियाद्वारा आयोजना भैइ सम्पन्न भएको ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिक सभा–२०२६ को समिक्षा बैठक सम्पन्न भएको छ।
अगस्ट ९ तारिख सम्पन्न उक्त कार्यक्रममा मलेसियामा रहेका विभिन्न जातीय तथा सामुदायिक संघसंस्थाले आ–आफ्ना जातीय परिकार, कला, संस्कृति, भेषभूषा र मौलिक पहिचान झल्काउने सामग्री तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमले मलेसियामा रहेका नेपाली आदिवासी जनजाति समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

कार्यक्रम सम्पन्न भएपछि आइतबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित लालिगुराँस रेस्टुरेन्टमा बसेको समीक्षा बैठकम नेफिन मलेसियाका अध्यक्ष, महासचिव, प्रमुख सल्लाहकार, सल्लाहकार तथा सदस्यहरूका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
समीक्षा बैठकका क्रममा थारु कल्याणकारिणी सभा, मलेसियालाई उत्कृष्ट जातीय परिकार प्रस्तुत गरेको भन्दै सम्मान गरिएको छ। नेफिन मलेसियाले थारु समुदायको मौलिक परिकारको प्रवर्द्धन र सहभागिताको कदर गर्दै प्रमाणपत्रसहित नगद रकम प्रदान गरेको हो। थारु समुदायको तर्फबाट बगिया ढिक्री , माछा , भुजाको लड्डु र घोङ्गी पस्किएको थियो ।

सम्मानपत्र थारु कल्याणकारिणी सभा, मलेसियाका सभापति प्रकाश चौधरीले ग्रहण गरेका थिए। उक्त सम्मानप्रति थारु कल्याणकारिणी सभा, मलेसियाले नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) मलेसियाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि जातीय भाषा, संस्कृति, परम्परा, मौलिक पहिचान तथा सामाजिक एकताको संरक्षण र प्रवर्द्धनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।



















