शाहआलम(मलेसिया):= मलेसियाको सेलाङ्गोरस्थित शाहआलममा कार्यरत एक नेपाली सुरक्षा गार्ड सडक दुर्घटनामा परी घाइते भएका छन्। दुर्घटनामा घाइते भएका उनको हाल अस्पतालमा उपचार भइरहेको छ।
प्राप्त जानकारीअनुसार चितवन स्थायी घर भएका ज्ञानु राम गत अगस्ट २२, २०२६ मा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनामा उनको खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
ज्ञानु राम एक सुरक्षागार्ड कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ। दुर्घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। हाल उनको सेलाङ्गोरस्थित सेरडाङ अस्पतालमा उपचार भइरहेको बताइएको छ।
मलेसियामा सडक पार गर्ने क्रममा पैदलयात्री दुर्घटनामा पर्ने घटना बेलाबेलामा हुने गरेका छन्। विशेषगरी काममा जाने–आउने क्रममा व्यस्त सडक पार गर्नुपर्ने नेपाली श्रमिकहरूले थप सावधानी अपनाउन आवश्यक देखिन्छ।
सडक पार गर्दा सम्भव भएसम्म जेब्रा क्रसिङ, पैदलयात्री क्रसिङ तथा आकाशे पुलको प्रयोग गर्न र सवारीसाधनको आवागमनबारे सुनिश्चित भएपछि मात्र सडक पार गर्न आग्रह गरिएको छ। रातको समयमा वा वर्षाका बेला सडक पार गर्दा अझ बढी सतर्कता अपनाउनुपर्ने देखिन्छ।




















