यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध जुलाई २१ सम्म लम्ब्यायो।

युएई (दुबई):=कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै यूएई सरकारले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको हवाई उडान प्रतिबन्धको समयावधि आउँदो जुलाई २१ सम्मका लागि लम्ब्याएको छ।

तर कार्गो, बिजनेस र चार्टर्ड उडानका लागि भने यूएईले अनुमति दिने जनाएको छ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि यूएईले नेपालबीच हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको हो।

नेपालले भने अहिले यूएईसँगको उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  उडान तालिका समेत सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोक्दा यूएईमा रोकिएका नेपालीहरू स्वदेश फर्कन पाए पनि यूएईले लगाएको प्रतिबन्धका कारण नेपाली श्रमिक भने यूएई जान पाउने छैनन्।

यूएईले मान्यताप्राप्त खोपको दुवै डोज अनिवार्य लगाएको हुन पर्ने नियम बनाएको छ । तर नेपालमा अहिले खोप पर्याप्त नहुँदा वैदेशिक रोजगारीको निम्ति युएई जान चाहने श्रमिकले लगाउन पाएका छैनन् र रोजगारीमा जान पनि पाएका छैनन्।