एजेन्सी := बेलायतका स्वास्थ्यमन्त्री म्याट हान्ककले राजीनामा दिनुभएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण लागि भएको सामाजिक दूरीको नियम उल्लंघन गरेका कारण उहाँले मन्त्री पदबाट राजीनामा दिनुपरेको हो । उहाँले सरकारले लागू गरेको सामाजिक दूरीको नियम उल्लंघन गर्दै सहकर्मीलाई चुम्बन गर्नुभएको थियो । म्याटले प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेखेर राजीनामा दिनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘सरकार यो महामारीका बेला धेरै कुरा त्याग गरेका नागरिकप्रति ऋणि छ र जब हामीले उनीहरूलाई निराश पार्छौं तब हामी इमानदार बन्नै पर्छ ।’ प्रधानमन्त्री बोरिस जोनसनले भने राजीनामा पत्र पाएर आफू ‘दुःखी’ भएको उल्लेख गर्नुभएको छ । नयाँ स्वास्थ्यमन्त्रीमा भने पूर्वअर्थमन्त्री शजिद जावेदलाई ल्याइएको छ ।

द सन पत्रिकाले म्याट र उहाँकी सहयोगी जिना कोलाडान्गेलोले चुम्बन गर्दै गरेका तस्वीर छापेको थियो । स्वास्थ्य मन्त्रालयभित्रै मे ६ मा सो तस्वीर खिचिएको द सनले बताएको छ । दुवै विवाहित हुनुहुन्छ र उहाँहरूबीच गोप्यरूपमा प्रेम सम्बन्ध रहेको दाबी गरिएको छ । म्याटले १५ वर्षको वैवाहिक जीवन पनि अन्त्य गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् र त्यसका कारण सोही चुम्बन रहेको उल्लेख छ । जिनाले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी छोडनुहुने भएको छ ।




















