एजेन्सी := यूईएफए युरो कप अन्तर्गत राती सम्पन्न खेलमा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।
बेल्जियमका लागि थोग्रन हजार्डले एक गोल गरे। हर्जाडले पहिलो हाफको ४२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै बेल्जियमलाई १ – ० को अग्रता दिलाएका थिए। उक्त गोल नै बेल्जियमलाई जित दिलाउन निर्णायक बन्यो।
प्रतिस्प्रधात्मक बनेको खेलमा पोर्चुगलले धेरै गोल गर्ने अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन।
खेलको छैटौं मिनेटमा डिएगो जोटाले गोल गर्ने अवसर पाएका थिए। पेनाल्टी बक्स भित्रबाट उनले गरेको प्रहारले सहि दिशा लिन सकेन।
पोर्चुगलले पहिलो हाफको २५ औं मिनेटमा डिबक्स लाइनको नजिकै फ्रिकिक पाएको थियो। उक्त फ्रिकिकमा कप्तान क्रिस्टियानो रोनाल्डोको प्रहार बेल्जियमका किपरले बचाव गरेका थिए।
खेलको ५८ औं मिनेटमा पुन ः डिएगो जोटा गोल गर्न चुके। रोनाल्डोले उपलब्ध गराएको उत्कृष्ट पासलाई जोटाले गोलमा परिणत गर्न सकेनन्।

दोस्रो हाफको ८२ औं मिनेटमा रोबिन डियासले कर्नरमा प्रहार गरेको बल किपरले उत्कृष्ट बचाव गरेका थिए। त्यसको एक मिनेट पछि ८३ औं मिनेटमा राफाएल गुरारोले प्रहार गरेको बल गोलपास्टमा लागेर रिबाउण्ड भएको थियो।
दोस्रो हाफको सुरुवातमा नै बेल्जियमका स्टार मिडफिल्डर केभिन डि ब्रुयनले चोटका कारण मैदान छोडेका थिए। जितसँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्प्रधा गर्ने छ। अष्ट्रियालाई २ – ० गोलअन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ।




















