फ्रान्सको ओलम्पिक टोलीबाट फुटबलर एमबाप्पे बाहिर।

एजेन्सी := सुपरस्टार युवा फरवार्ड केलियन एमबाप्पेलाई बाहिर राख्दै फ्रान्सले टोकियो २०२० ओलम्पिकका लागि टोली घोषणा गरेको छ । प्रशिक्षक सिल्भेन रिपोलले शुक्रबार १८ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । टोलीमा २२ वर्षीय स्टार खेलाडी एमबाप्पे भने अटाउनुभएन ।

एमबाप्पे अहिले युरोपेली च्याम्पियनसिपमा व्यस्त हुनुहुन्छ । फ्रान्स जर्मनी, पोर्चुगल र हंगेरी सम्मिलित ग्रुप अफ डेथको समूह विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ । फ्रान्सले प्रि–क्वार्टरफाइनलमा स्विट्जरल्याण्डसँग २८ जुनको राति खेल्दैछ ।

फ्रान्सको १८ सदस्यीय टोलीको गोलरक्षकमा पउल बर्नारडोनी (एन्जर्स) र गोउटिएर लार्सननिएर (ब्रेस्ट), डिफेन्डरमा बेनोइट बाडियसिल (मोनाको), एन्थोनी कासी (स्टार्सवर्ग) पिएरे कालुलु (एसी मिलान), क्लेमेन्ट मिचेलिन (लेन्स), विलियन सालिवा (आर्सनल) र मालाङ सार (चेल्सी) रहनुभएको छ ।

यस्तै, मिडफिल्डरमा इडुआर्डाे कामाभिंगा (रेनेस), म्याक्सिन काकुरेट (लियोन), जोनाथन कोन (लिल), तेजी साभानिएर (मोन्टपेलिएर), फ्लोरिएन थाउभिन (टाइग्रेस) र लुकास टोउसार्ट (हर्था बर्लिन) तथा फरवार्डमा आन्द्रे पिएरे जिनाक (टाइग्रेस), एमिन गुइरी, (निस), रान्डल कोलो मुएनी (नान्टेस) र अर्नाेउ नोरदिन (सेन्ट इटिएन) रहनुभएको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्ष सरेपछि गत वर्ष २३ पुगेकालाई टोलीमा समेट्न पाउने नियम बनाएको छ । ओलम्पिकमा साधारणतया २३ वर्षमुनिका खेलाडी टोली रहने गरेका छन् । यसमा तीन खेलाडी बढी उमेरका राख्न पाउने प्रावधान रहेको छ ।

फ्रान्स दोस्रोपटक ओलम्पिकको स्वर्ण जित्ने लक्ष्यमा हुनेछ । फ्रान्सले १९८४ मा ब्राजिललाई हराएर स्वर्ण जितेको थियो । गत संस्करणमा ब्राजिलले जर्मनीलाई हराएर पहिलोपटक ओलम्पिकमा स्वर्ण जित्न सफल भएको थियो ।

ओलम्पिकको पुरुषतर्फको फुटबलमा १६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ फ्रान्ससँगै जापान, दक्षिण अफ्रिका र मेक्सिको छन् । ओलम्पिकको स्वर्णपदकको खेल ७ अगस्टमा योकोहामामा हुनेछ ।