काठमाडौं:= सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता गरेको हो ।
एक जनामा भने कोरोना पुष्टि भएकाले निको भएपछि ल्याइने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
उनीहरुलाई स्वास्थ्य सेवाको सुरक्षित मापदण्ड अनुसार माइती नेपालमा आश्रय दिइएको छ ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महिलामन्त्री लीलानाथ श्रेष्ठले खुल्ला सिमानाको कारण मानव बेचविखन भइरहेकाले पहिलो प्राथमिकता उद्धार र पुनःस्थापना भएको बताउनुभयो ।
मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण, बेचविखनमा परेकाहरु उद्धार पुनःस्थापना र पारिवारिक पुनर्मिलनको काम गर्दै आएको छ ।यसका लागि महिला मन्त्रालयले १० वटा पुनःस्थापना केन्द्र सञ्चालन गरेको छ ।
पुनःस्थापना केन्द्रमा आर्थिक सशक्तिकरणका लागि जिविकोपार्जनका तालिम प्रदान गरिन्छ ।चालु आर्थिक वर्षमा मात्रै भारत लगायत तेस्रो मुलुकमा अवैध बाटोबाट गएर अलपत्र परेका ११ सय जति महिला, बालबालिकालाई उद्धार गरिएको मन्त्रालयको तथ्यांक छ ।



















