काठमाडौं := राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ कात्तिकसम्म यथावत् रहने भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९औं बैठकले आर्थिक वर्ष २०७७/०७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवासलगायतका पुनर्निर्माणका काम २०७८ कात्तिकसम्ममा सम्पन्न गर्ने निर्णय गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि घोषित निषेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका काममा अवरोध आएकाले यसअघिको बहिर्गमन तथा हस्तान्तरण कार्ययोजना परिमार्जन गरिएको बताउनुभयो ।
यथासम्भव न्यून जनशक्ति परिचालन गरी आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकभित्रै कार्य सम्पन्न गरिने र सोही अवधिमा अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा हस्तान्तरणको कार्यलाई पनि एकैसाथ अघि बढाइने ज्ञवालीले बताउनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उल्लेखित कार्यका लागि आव २०७८/०७९ को पहिलो दिनदेखि नै आवश्यक बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । बैठकले कोरोना महामारीको दोस्रो लहरका कारण काम सम्पन्न हुन नसकेका निजी आवासका लाभग्राहीलाई २०७८ कात्तिकसम्मको समयावधि तोकी उक्त कार्यको फछ्र्यौट गर्ने निर्णय पनि गरेको छ ।
साथै निर्माण सम्पन्न भएका तर सुरक्षित घरको मापदण्ड पूरा गर्न नसकेका निजी आवासका लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमार्फत् सम्भव भएसम्म सुधार गराउने गरी अनुदानको बाँकी किस्ता रकम उपलब्ध गराउन पनि प्राधिकरणलाई निर्देशन दिएको छ । बैठकले नेपालको पुनर्निर्माणसम्बन्धी प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन २०७८ मंसिर २१-२३ गते आयोजना गर्न स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले तत्कालीन अवस्था हेरी भौतिक तथा भर्चुअल माध्यमको मिश्रित मोडलमा सम्मेलनको आयोजना गर्नेछ ।
त्यस्तै बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई यसअघिको समझदारीअनुसार सञ्चार तथा यातायात खर्च र दुर्गम भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकमा कानुनमन्त्री लिलानाथ श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, मुख्य सचिव शंकरदास बैरागी, गृहसचिव महेश्वर न्यौपाने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्याललगायतको सहभागिता रहेको प्र्राधिकरणले जनाएको छ ।




















