संसारकै खर्चिलो शहरमा तुर्कमेनिस्तानको राजधानी आस्गाबात।

एजेन्सी := मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको राजधानी आस्गाबात यस वर्ष संसारकै खर्चिलो शहर बनेको छ । परामर्शदात्री संस्था मर्सरको पछिल्लो अध्ययन अनुसार सन् २०२१ मा उक्त शहर संसारका अन्य शहरलाई उछिन्दै सर्वाधिक खर्चिलो सूचीको पहिलो स्थानमा सूचीकृत भएको हो ।

विदेशी कामदारका लागि उक्त शहर निकै खर्चिलो रहेको उक्त अध्ययनमा उल्लेख छ । गतवर्ष महंगो शहरको रूपमा पहिलो स्थानमा रहेको हङकङलाई समेत आस्गाबातले उछिनेको छ ।

हङकङ अहिले दोस्रो स्थानमा छ । त्यसपछि क्रमशः लेबनानको बेइरुत र जापानको राजधानी टोक्यो छन् । आवास, खाना र यातायात खर्चलाई जोडेर २०६ वटा शहरमा यस्तो अध्ययन गरिएको थियो । घरेलु आर्थिक मन्दीका कारण पनि आस्गाबात खर्चिलो बनेको अनुसन्धान गर्ने फर्म मर्सरका जिन फिलिप साराले जनाउनु भएको छ ।

तुर्कमेनिस्तान (तुर्कमेनियाको नामले पनि चिनिन्छ) यो मध्य एसियामा अवंस्थित देश हो । १९९१ सम्म तुर्कमेन सोभियत समाजवादी गणराज्य (तुर्कमेन एसएसआर)को रूपमा यो सोभियत संघको एक घटक गणतन्त्र थियो । यसको सीमा दक्षिण पूर्वमा अफगानिस्तान, दक्षिण पश्चिममा ईरान, उत्तर पूर्वमा उज्बेकिस्तान, उत्तर पश्चिममा काजकिस्तान अझ पश्चिममा केस्पियन सागरसँग मिल्छ ।