सुनिलको ‘को होला त्यो’ गीतको फिमेल भर्सन।

काठमाडौं := लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियोे सार्वजनिक गरिएको छ । जसमा पछिल्लो पुस्ताकी गायिका अस्मिता अधिकारीको स्वर छ ।

सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत छ भने एरेन्ज गोपाल रसाइलीको छ । निषेधाज्ञा अगाडि कालिञ्चोक, चरिकोट मुडेलगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोेमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठकै अभिनय देख्न सकिन्छ ।

गायक गिरीले आठ वर्ष अगाडि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याउनु भएको थियो । जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो । ८ वर्षपछि सोही टिम दोहोरिएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गर्नुभएको छ ।

अनिलकृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोेमा सम्पादन र कलरिङ मनोज कार्कीको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलमार्फत बजारमा ल्याइएको भिडियोेलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो ।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिनुभएको छ । टिकटकमा आएको सर्वाधिक भ्युज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण युनिटले जनाएको छ ।