एजेन्सी:= युरो कप फुटबलमा स्विजरल्यान्डले पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै स्विजरल्यान्डले पहिलो जित निकालेको हो ।
तेस्रो स्थानमा हुने उत्कृष्ट टिमको रुपमा स्वीजरल्याण्ड अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ। जारी टुर्नामेन्टमा तेस्रो स्थानमा हुने उत्कृष्ट चार टिम अन्तिम १६ मा जाने छन्।
खेलको छैटौं मिनेटमै हरिस सेफेरोभिचको गोलमा अग्रता बनाएको स्वीजरल्याण्डका लागि हेर्डन शाक्विरीले दुई महत्वपूर्ण गोल गरे। शाक्विरीले खेलको २६ र ६८ औं मिनेटमा गोल गरेका थिए। तीनै गोलमा स्टिभेन जुबरको असिस्ट रह्यो।
उता टर्कीका लागि इर्फान काहभेचीले ६२ औं मिनेटमा गोल फर्काए। जुन जारी टुर्नामेन्टमा टर्कीको पहिलो गोल थियो। यो टुर्नामेन्टमा सो गोल नै टर्कीको अन्तिम पनि हुनेछ, किनकी जितविहीन रहेको टर्की टुर्नामेन्टबाट बाहिरिएको छ। टर्की यसअघि इटालीसँग ३-० र वेल्ससँग २-० ले पराजित भएको थियो।
यसैबीच, समूह ‘ए’ बाट इटाली समूह विजेता बन्दै अर्को चरणमा गएको छ भने वेल्स र स्वीजरल्याण्डले समान ४ अंक जोडे पनि गोलअन्तरको आधारमा वेल्स दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ।




















