एजेन्सी := युरो कप फुटबलमा इटली समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोलले हराउँदै इटली नकआउट चरणमा प्रवेश गरेको हो ।
इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटलीले वेल्समाथि १-० को जित निकाल्यो। खेलको ३९ औं मिनेटमा म्याट्टेओ पेसिनाको गोलमा इटलीले अग्रता बनाएको थियो। अर्कोतर्फ दोस्रो हाफमा वेल्सका इथान अम्पाडु रेडकार्ड खाँदै बाहिरिँदा वेल्स १० खेलाडीमा समेटिएको थियो। यद्यपि दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा पेसिनाको गोल नै खेलका लागि निर्णायक बन्यो।
इटलीसँग पराजित भए पनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । वेल्सले ३ खेलमा ४ अङ्क जोडेको छ । यसअघि वेल्सले स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने टर्कीलाई २–० गोलले हराएको थियो ।




















