तीतो तर गुनिलो करेला।

हाम्रो वरिपरि रहेका हरेक खाने चिजहरू कुनै न कुनै रूपमा औषधियुक्त हुन्छन् । त्यसलाई हामी कसरी ग्रहण गर्छौं भन्ने कुरा हो । नाम नै तीतेकरेला, नामअनुसार यसको स्वाद तीतो नै हुन्छ । तर, यो गुणहरूले भरिएको तरकारीमा पर्छ । वैज्ञानिक वर्गीकरणअनुसार, फूल फुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्छ यो ।

Momordica Charantia वैज्ञानिक नामबाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्र्रेजीमा भने यसलाई बिटरमेलन वा बिटरगोर्ड भन्ने गरिन्छ । हरियो र सेतो देखिने यो खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर तरकारी मानिन्छ । यो लहरामा फल्ने फल हो । यसमा रहेको Momordicin  नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुने गर्दछ ।

आयुर्वेदिक चिकित्सामा तीतेकरेलालाई विभिन्न औषधिमा उपयोग गर्ने गरिन्छ । उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोगका साथै विभिन्न रोग निदानका लागि समेत यसको प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा यसले पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरुस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ ।

पत्थरीको रोग, पक्षाघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ । रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ । त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ । यसमा फस्फोरस, क्याल्सियम, प्रोटिन कार्बोहाड्रेट, रेशा र अन्य खनिज पदार्थ पाइने गर्दछ ।

१०० ग्राम तीतेकरेलामा भिटामिन ‘ए’ २१० मिलिग्राम, भिटामिन ‘बी’ ०.०७ मिलिग्राम रहेको हुन्छ । यसका अन्य गुणमा यसले कब्जियत, अरूचि हटाउने एवम् पाचन र मल निष्काशनलाई नियमित गर्दछ । त्यस्तै, दाद, खुजुली निस्किएको ठाउँमा करेलाको रस लगाइदिएमा धेरै राम्रो हुने गर्दछ ।