युरो कप फुटबल: इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीच गाेलरहित बराबरी।

एजेन्सी := यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा २२५०० दर्शकबीच सम्पन्न समूह ‘डी’ को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

प्रतिस्पर्धात्मक खेलमा दुबै टीमले राम्रा अवसरहरु बनाएर पनि फिनिसिङमा चुकेका थिए। यसअघिको खेलमा चेक रिपब्लिकसँग २-० ले पराजय ब्यहोरेको स्कटल्याण्डले युरो कपको प्रमुख उपाधि दावेदारमध्येमा हेरिएको इङ्ग्ल्याण्डसँग अंक बाँड्न सफल भयो। अर्कोतर्फ पहिलो खेलमा क्रोएसियालाई हराएर सुखद सुरुवात गरेको इङग्ल्याण्डले अन्तिम १६ मा स्थान बनाउन अझै अर्को खेल कुर्नुपर्ने भएको छ।

दुवै टोलीले गोल गर्ने मौका पाउँदा पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । समूह ‘डी’मा रहेको इङ्ग्ल्यान्डको दुई खेलमा चार अङ्क भएको छ । स्कटल्यान्डले भने दुई खेलमा एक अङ्क जोडेको छ ।