दाङ := दाङ देउखुरीको राप्ती नदीमा आएको बाढीका कारण वेला घाटमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा वेला घाटमा फसेकाहरुको सकुशल उद्धार गरिएको हो ।
लमही नगरपालिका-७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका-२ का ४५ वर्षीया सावित्रा, त्यही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका-३ प्रतापपुर निवासी २६ वर्षीय गणेश यादवको झण्डै १२ घण्टापछि सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नीरिक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो।

लमही ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका उनीहरु राप्ती नदीमा आएको बाढीका कारण बीचमा फसेका थिए । उनीहरुको बुधबार बिहान करिब पौने ९ बजेतिर सकुशल सशस्त्र प्रहरीले उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको उद्धार गर्नको लागि सशस्त्र प्रहरी बल भालुवाङबाट उपरिक्षक टोपबहादुर खनालको कमाण्डमा नौं जना र लमहीस्थित अर्जुन खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट थप १६ जना सशस्त्र प्रहरी रबरबोट तथा उद्धार सामाग्री साथ बुधबार बिहान ६ बजे नै घटनास्थल पुगेका थिए ।
लमही ७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबीच टापुमा राप्ती नदीमा बाढी आउँदा उनीहरु बीच्मै फसेको खवरपछि सशस्त्र प्रहरी पुगेर उद्धार गरेको हो । अबिरल बर्षाका कारण ठाउँ ठाउामा झरेको पहिरोको कारण दाङसंग सीमाना जोडिएका पहाडी जिल्लाहरुको आवात जावात ठप्प भएको छ।




















