एजेन्सी := अभिनेता अक्षय कुमारको बलिउड चलचित्र ‘बेलबटम’को रिलिजको मिति घोषणा गरिएको छ । अहिलेको कोभिड १९ को बिसम परिस्थितीमा पनि चलचित्र हलमा प्रदर्शन गर्ने घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ‘बेलबटम’ पहिलो चरणको कोरोना महामारीको ‘लकडाउन’पछि छायांकनमा जाने बलिउडको पहिलो चलचित्र हो ।
भिडियोमा अक्षय सुटकेस बोकेर हिँडिरहनु हुन्छ । उहाको पृष्ठभूमिमा जुलाई २३ देखि जुलाई २८ तारिखसम्मको मिति लहरै राखिएको छ । अन्तिममा अक्षय चलचित्र रिलिज मितिमा टक्क अडिनुहुन्छ र भिडियो सकिन्छ । अभिनेता अक्षय जुलाई २७ मा रोकिन्छन्, अर्थात् चलचित्र आउँदो जुलाई २७ मा हलमा रिलिज हुँदै छ । अक्षयले भिडियोसँगै क्याप्सन पनि लेख्नुभएको छ, जसमा भनिएको छ, ‘मलाई थाहा छ, तपाईंहरू बेलबटमका लागि धैर्यतापूर्वक प्रतीक्षा गरिरहनुभएको छ ∕ हाम्रो चलचित्रको रिलिज मिति घोषणा गर्न पाँउदा निकै खुशी लागेको छ । विश्वव्यापी रूपमा ठूलो पर्दामा जुलाई २७ मा आउँदै छ ।’
सत्य घटनामा आधारित रहस्यमय जासुस ड्रामा ‘बेलबटम’ अक्षयको यस वर्ष हलमा रिलिज हुन लागेको पहिलो चलचित्र बनेको छ । यस चलचित्रले दर्शकलाई ८० को दशकमा पुगेको भान गराउनेछ । रणजित एम तिवारीको निर्देशन रहेको यस चलचित्रमा अक्षय कुमार, हुमा कुरेसी, वाणी कपुरलगायतको मुख्य अभिनय छ । यसका प्रायः दृश्यहरू स्कटल्याण्डमात्र खिचिएका छन् ।




















