काठमाडौं := अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रूपमा आयोजना हुँदै आएको ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ यसपटक भच्युअल्ली हुने भएको छ ।
विश्वका १४ वटा देशले सहभागिता जनाउने यस महोत्सव जुन महिनाको १७ देखि २० तारिखसम्म चल्नेछ । महोत्सवमा ३० वटा चलचित्र प्रदर्शन हुनेछन् । महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निःशुल्क हेर्न सकिनेछ ।
प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारबीच छलफल पनि हुनेछ । प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरूलाई पुरस्कृतसमेत गरिनेछ ।
चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाहरूको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरूको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बू, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रीता मेहर र पोर्सिया कोब जुरीको रूपमा छन् ।
महोत्सवमा आवेदन परेका चलचित्रहरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भए तापनि साउथ एसियन फिल्म फेस्टिभलहरूको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।




















