[ चिन्तन क्षेत्री ]
काठमाडौं := जेठ २८ गतेबाट नेपाल प्रवेश गरेको मनसुन अझै जारी छ । पछिल्लो समय देशभरि नै सक्रिय रहेको मनसुनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढाएको छ । मौसमविद् बरुण पौडेलले अहिले देशभरि फैलिएको मनसुन अझै केही दिन सक्रिय रहने बताउनुभएको छ।
आउँदो एक हप्तासम्म बामगती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभएको छ । अहिले यी प्रदेशका विभिन्न जिल्लाहरूमा पहिरोको उच्च जोखिम रहेको छ । विभिन्न जिल्लाबाट प्राप्त विवरण अनुसार लगातारको वर्षाले त्यहाँ सडकहरू अवरुद्ध बनेका छन् ।
सुरक्षा निकायको तयारी कस्तो ?
मनसुनमा आइपर्ने बाढी, पहिरो तथा डुबानलगायतका विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको तीनवटै सुरक्षा निकायले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका प्रवक्ताहरूले यस वर्ष अघिल्लो वर्षको तुलनामा विपद्का घटना बढ्ने जानकारी प्राप्त भएकाले व्यवस्थापनका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन् ।
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौड्यालले सेनाले विपद् प्रतिकार्य योजना तयार पारेर काम सुरु गरिएको बताउनुभयो । विपद्को घटना घट्ने ठाउँको नक्साङ्कन गरी आवश्यक जनशक्तिलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
७७ वटै जिल्लामा भएका गण तथा गुल्महरूबाट एकतिहाइको जनशक्ति फौजलाई विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उहाँले खतरायुक्त स्थानमा सेनासँग भएको आवश्यक स्रोत साधनसहित दक्ष जनशक्ति परिचालन गरिने बताउनुभयो ।
विपदसँग जुध्न नेपाल सेनासँग दुईवटा विशेष तालिमप्राप्त युनिट रहेका छन् । जलसम्बन्धी उद्दारका लागि २०० वटा वोटहरू तयारी अवस्थामा राखिएको पनि उहाँको भनाइ छ ।
विपद्को समयमा आइपर्ने अत्यावश्यक सामग्रीहरू ओसार–पसार गर्न तथा उद्दार गर्नका लागि पश्चिममा सुर्खेतमा र पूर्वमा इटहरी वा विराटनगरमा हवाइ साधन तयारी अवस्थामा राख्ने पनि प्रवक्ता पौड्यालले बताउनुभयो ।
यस्तै, सशस्त्र प्रहरी बलले पनि विपत्को प्रतिकार्य गर्न आफ्नो तयारी पूरा भएको जनाएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले केन्द्रीय कार्यालयबाट परिपत्र गरेर सबै युनिटलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको बताउनुभयो ।
खतरायुक्त ठाउँको नक्साङ्कन गरेर बाढी, पहिरो, डुबान के को जोखिम हो त्यसै अनुसार जनशक्ति परिचालन गरिएको छ । सशस्त्रमा विपत व्यवस्थापनको तालिम लिएको जनशक्ति १९१८ जना रहेका छन् । प्रवक्ता अर्यालका अनुसार सो जनशक्तिलाई प्रत्येक प्रदेशमा एक÷एक समूह, उपत्यकामा दुईवटा र विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा दुईवटा गरी १० वटा समूह परिचालन गरिने गरि योजना बनाइएको छ ।
यस्तै उपत्यकासहितका आठ वटा बाहिनी, गण, गुल्म, विओपी स्तर र अन्य बेसहरूमा पनि विपद् व्यवस्थापनको लागि समूह तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । तालिमप्राप्त ३७ जना गोताखोरलाई पनि तयारी अवस्थामा राखिएका छन् ।
डुबानको अवस्थमा उद्दारका लागि ७० वटा वोटहरू तयारी अवस्थामा राखिएको र पहिरोका कारण राजमार्ग अवरुद्ध भएको खण्डमा अवरोध हटाउनको लागि १३ वटा हेभि इक्युपमेन्टहरू परिचालन गरिसकिएको उहाँले बताउनुभएको छ । राजमार्ग अवरुद्ध भएर आपूर्तिमा असहजता हुनसक्ने कुरालाई ध्यानमा राख्दै पेट्रोल पम्पमा पेट्रोल, डिजेल भण्डारण पनि गरिएको उहाँले बताउनुभयो ।
यता, नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले केन्द्रका विभिन्न निकाय र स्थानीय तहको विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय गरेर काम अगाडि बढाइसकिएको बताउनुभएको छ । प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरूलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको बताउनुभएको छ । स्थानीयस्तरमा प्रहरी सरोकारवाला निकायसँग समन्वय गरिरहेको उल्लेख गर्दै उहाँले मुख्य तथा सहायक राजमार्गहरूलाई अवरुद्ध हुन नदिन प्रहरीले ध्यान केन्द्रित गरेको बताउनुभयो ।
कहाँ कति क्षति ?
लगातारको वर्षापछि नारायणगढ-मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुंगा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुंगा र लेदो खसेको हो । यस्तै कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुंगा र लेदो खसेको प्रहरीले जनाएको छ ।
यता, बागलुङ बजार जलमग्न भएको छ । बागलुङ बजारमा अव्यवस्थित घर निर्माण तथा सडकनाली थुनिँदा बागलुङ बजार जलमग्न भएको स्थानीय रमेश पौडेलले बताउनुभयो ।
बागलुङ बजारको शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक डुवानमा परेको छ । सडक डुबान हुँदा एक दर्जन भन्दा बढी घरभित्र पानी पसेर क्षती पु¥याएको छ । यस्तै, जिल्लाको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल टुटेको छ । कालिगण्डकी करिडोरको मालढुंगामा पहिरोले अवरुद्ध गरेको छ ।
वर्षाका कारण कर्णली राजमार्ग पनि अवरुद्ध भएको छ । सुर्खेत-जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
उता, डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ । यस्तै विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुवानमा परेको हो ।
यसैगरी सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् ।
यसैगरी अविरल वर्षाका कारण बाजुराको जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरूमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो । बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ ।
यस्तै, मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो ।
गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास-रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा सोमबार राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी गुल्मीकै रिडी-रुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा मंगलबार बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पनि अवरुद्ध भएको छ ।
यसैगरी, लमजुङ दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनबाट निरन्तर परेको पानीले मंगलबार बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको शुरूङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो । आयोजनाको मुख्य सिरुङमा बाढी पस्न थालेसँगै सुरुङभित्र काम गर्दै गरेका ५०/६० जना कामदारको सहकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएको छ ।
यस्तै लगातारको झरीका कारण नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएको छ । देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह आठ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह आठ मिटर भन्दामाथि गएपछि खतराको संकेत गर्दछ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोधसहितको सूचना जारी गरेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ ।




















