एजेन्सी := यूईएफए युरो कप अन्तर्गत हिजै मंगलबार सम्पन्न समूह ‘एफ’को दोस्रो खेलमा फ्रान्सले जर्मनीमाथि जित निकालेको छ। जर्मनीको एलिनाज एरेनामा सम्पन्न समूह ‘एफ’को खेलमा फ्रान्सले घरेलु टोलीमाथि १-० को जित निकालेको हो।
खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट हमेल्सको आत्मघाती गोलबाट फ्रान्सले अग्रता बनाएको थियो। लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्राममा उनी आफ्नै पोस्टमा प्रहार गर्न पुगेका थिए।

फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सको प्रहारले जाली चुमेको थियो। जर्मनीका गिनर्बीले पाएको अवसरमा गोल गर्न सकेनन्। उनले सिक्स यार्डबाट हानेको प्रहार आकासियो। दोस्रो हाफमा फ्रान्सका रबिओटको प्रहारले पनि पोस्टको दिशा लिन सकेन।
६६ मिनेटमा एमबाप्पेले बललाई जाली चुमाए पनि रेफ्री साइड घोषित गरे। ८६ मिनेटमा करिम बेन्जिमाले पनि बललाई गोलपोस्टको दिशा दिएका थिए। एमबाप्पेको पासमा उनले उत्कृष्ट फिनिसिङ गरे पनि आफसाइड भएको थियो।

जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गर्यो। पोर्चुगलको जितमा दुई गोल गरेका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए।




















