एजेन्सी := युईएफए युरोकप २०२० फुटबलमा पोर्चुगलले सानदार जित हासिल गर्दै सुखद सुरुवात गरेको छ। मंगलबार हंगेरीको पुस्कास एरिना स्टेडिएममा पाहुना टोलि पोर्चुगले हंगेरीलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा राफेल गुएर्रइरोले अग्रता बनाएका थिए। त्यसको तीन मिनेट नबित्दै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल थपे। त्यस्तै ९२ औं मिनेटमा रोनाल्डोले नै ब्यक्तिगत दोस्रो गोल थप्दा पोर्चुगलले ३-० को सहज जित निकाल्दै ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ मा तीन अंक जोडेको छ।

कोभिड पछि पहिलो पटक करिब ६० हजार दर्शक खेल मैदानमा उपस्थित भएका थिए। १२ औं खेलाडीका रुपमा दर्शकको साथ पाएको हंगेरीले खेलको अन्तिम समय सम्हालिन नसक्दा हार बेहोर्न पुग्यो।

समूह ‘एफ’ लाई गुरुप अफ डेथ मानिएको छ। यो समूहमा जर्मनी र विश्व बिजेता फ्रान्स पनि छन।
त्यसैले पनि डिफेन्डिङ च्याम्पियन पोर्चुगलका लागि यो जित महत्वपूर्ण रहेको थियो।
यो जितसँगै पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेर शिर्ष स्थान कायम गरेको छ। हार बेहोरेको हंगेरी समूहको पुछारमा छ।
त्यस्तै, रोनाल्डो पाँचवटा यूरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी पनि बनेका छन् । बुडापेस्टमा भएको खेलमा शुरुवात गर्दै रोनाल्डोले यो कीर्तिमान पनि बनाएका हुन् । सन् २००४ मा उनले पहिलोपटक प्रतियोगितामा भाग लिएका थिए । त्यसयता उनले २००८, २०१२ र २०१६ को यूरो कपमा पनि भाग लिएका थिए । उनले सबै संस्करणमा गोल पनि गरेका छन्।
रोनाल्डोले मात्र हाेइन पोर्चुगलले पनि खेलमा कीर्तिमान बनाउन सफल भएको छ । पाोर्चुगलले खेलको ८४, ८७ र ९०+२ मिनेटमा गोल गरेको थियो । यूराेमा अन्तिम १० मिनेटमा ३ गोल गर्ने पोर्चुगल पहिलो टोली बनेको छ ।




















