आजबाट महिला भलिबल टिमको बन्द प्रशिक्षण सुरु हुँदै।

काठमाडौं := फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ।

नेपाल भलिबल संघ (एनभीए) ले टिमको बन्द प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने जनाएको छ । कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गरिने संघले जनाएको छ । यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो ।

संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।

संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । संघले बोलाएको प्रारम्भिक टिममा बिनिता बुढाथोकी र नेविका चौधरी परेकी छैनन् । आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन् ।

न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् । संघले बैकल्पिक खेलाडीमा भतरपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगती नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसबाट पुष्पा चौधरीलाई राखेको छ ।

प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।