काठमाडौं := यो वर्षको मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन सक्रिय भएको जनाएको हो । यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविद्ले बताएका छन् । विभागले यो वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको छ । जसकारण यो वर्ष मनसुनजन्य विपद बाढी–पहिरोबाट झण्डै १८ लाख बढी मानिस प्रभावित हुन सक्नेछन् ।
गएको वर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो । तर, यो वर्ष औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ । गत वर्ष औसत बराबर जस्तो पानी पर्दा ४०० मानिसको मृत्यु भएको थियो भने ११ सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । विपद व्यवस्थापन प्राधिकरणले यो तथ्यांक विश्लेषण गर्दा यो वर्ष मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको हो ।
प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार मानिस प्रभावित हुन सक्नेछन् । यस्तै, मौसम विभागका प्रवक्ता सुमनकुमार रेग्मीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मनसुनको आगमनसँगै यस वर्ष बाढी र पहिरोको जोखिम धेरै हुने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । ठूला तथा मझौला नदीहरूमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदी तथा खहरे खोलाहरूमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले मनसुनको अवधिभर सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
हावापानी प्रारूपको आधारमा यस वर्षको मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागको अनुमान छ ।यस्तै, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ का पश्चिमी भूभागमा सरदर वर्षा हुने र प्रदेश १ को तराई र प्रदेश ३ का पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने आँकलन विभागले गरेको छ । साधारणतया अंग्र्रेजी महिनाको जुन १३ देखि सेप्टेम्बरसम्मको चार महिनालाई नेपालसहित दक्षिण एशियाली क्षेत्रको मनसुन अवधि मानिन्छ ।




















