एजेन्सी := राफयल नाडाललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपनको फाइनलमा स्थान बनाउनुभएको छ । पेरिसमा शुक्रबार राति भएको खेलमा जोकोभिचले साविक विजेता नाडाललाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाएको हो ।
चार घण्टा ११ मिनेट लामोसमयसम्म चलेको सेमिफाइनलमा जोकोभिचले सुरुवाती सेट ३–६ ले गुमाए पनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै फाइनलमा ग्रीसका स्टेफानोस सिट्टीपाससँगको भेट पक्का गर्नुभएको हो ।
दोस्रो सेट जोकोभिचले ६–३ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किनुभएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा जोकोभिच ७–६ ले विजयी हुदै अग्रता लिदा चौथो सेट ६–२ ले सहजै आफ्नो पक्षमा पार्न सफल हुनुभयो । जोकोभिच छैटौंपटक फ्रेन्च ओपनको फाइनलमा पुग्न सफल हुनुभएको हो ।
जोकोभिचले २०१६ मा एण्डी मर्रेलाई पराजित गर्दै उपाधि जित्नुभएको थियो । जोकोभिच २०१२, २०१४, २०१५, २०१६ र २०२० मा फाइनलमा पुग्नुभएको थियो । फाइनलमा पुग्नुभएका अर्का खेलाडी स्टेफानोसले एलेसान्दर जेभेरेभलाई ३–२ को सोझो सेटमा गर्नुभएको हो । स्टेफानोसले सुरुवाती दुई सेट ६–३ र ६–३ ले जितेपनि त्यसपछिको दुई सेट समान ४–६ र ४–६ ले गुमाउनुभएको थियो । निर्णायक सेटमा भने स्टोफानोस ६–३ ले विजयी हुनुभयो ।




















