पुनर्जीवन पाउने आशामा निशा।

काठमाडौं := अहिले सामाजिक सञ्जालमा एक तस्वीर अत्यधिक भाइरल बनिरहेको छ, त्यो हो मोडल निशा घिमिरेको अस्पतालको बेडको तस्वीर । भारतमा कार दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकी मोडल निशाको उपचार हुन थालेको धेरै भइसकेको छ ।

२०७६ पुस १८ गते भारतको देहरादुनमा उहाँ कार दुर्घटनामा पर्नुभएको थियो । भारतमा १० लाख भारतीय रुपैयाँ खर्च भएपछि २२ दिनको उपचारपछि उहाँलाई नेपाल ल्याइएको थियो । दुर्घटना भएको डेढ वर्ष भइसक्दा कुनै कलाकार तथा संघसंस्थाबाट सहयोग जुट्न सकेको थिएन । सामाजिक सञ्जालमा समेत तस्वीर पोष्ट गरेर शीघ्र स्वास्थ्य लाभ भन्ने कोही थिएनन् । तर अहिले अस्पतालको बेडको तस्वीर र मोडलिङ गर्दाको तस्वीरलाई ‘पहिलो र अहिले’ लेखेर पोष्ट भइरहेको छ । त्यो पनि अधिकांश कलाकारको सामाजिक सञ्जालबाट ।

मोडलिङको समयमा रिस्टपुष्ट ज्यानकी निशा, केही चलचित्र, टेलिचलचित्र तथा म्युजिक भिडियोमा काम गर्नुभएको छ । त्यही समयका तस्वीर र अहिलेको अस्पतालको बेड राखेर सहयोगको आग्रह धेरैले गरेको देखिन्छ । यिनै तस्वीरका कारण निशाले पुनर्जीवन पाउने संकेत देखिएको छ । सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेको देखेपछि नर्भिक अस्पतालले निशाको उपचार गर्ने भएको छ, त्यो पनि निःशुल्क।

विशेषगरी सामाजिक सञ्जालका तस्वीर र सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार देखेपछि नवजीवन परोपकार संस्थाका सञ्चालक दुर्गानाथ दाहालको पहलमा नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको उपचारमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । अस्पतालले निःशुल्क उपचार गर्ने भएपछि निशाका बुबा प्रेमले छोरी फेरि पहिला जस्तै स्वस्थ हुने विश्वास पलाएको बताउनु भएको छ ।

यता म्युजिक भिडियो कलाकार संघले पनि निशाको सहयोगका लागि अभियान सुरु गरेको छ । शुक्रबार संस्थाका कार्यसमितिका केही पदाधिकारीको उपस्थितिमा निशाको बुबालाई संघका अध्यक्ष शंकर बिसीको हातबाट केही आर्थिक सहयोग गरिएको मोडल महेन्द्र गौतमले जानकारी दिनुभयो ।

महेन्द्रले फेसबुकमा लेख्नुभएको छ, ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी निशा घिमिरे अहिलेको यो अवस्था देख्दा निःशब्द छौं । कलाकारितामा उच्च शिक्षाका क्रममा भारतमा सवारी दुर्घटनामा परी उपचार अभावले यो अवस्थामा पुगेको देख्दा साह्रै दुःखी छौं । पहिले र अहिलेको यो अवस्था देख्दा हामी सबैको आँखा रसाउँछ होला सायद, एउटा राष्ट्रको गहना निशा उपचारको अभावले जीवनमरणको दोसाँधमा हुनुहुन्छ । हाम्रो अनुरोध हाम्रो सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्नुहुन्छ ।’ म्युजिक भिडियो कलाकार संघमार्फत देश विदेशमा रहने सबैलाई सहयोगका लागि अपिल गरिएको छ ।