बैंकमा हुने भिडले कोरोना जोखिम।

पाल्पा := पाल्पाका बैंकमा भिड बढेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण एक महिनादेखि बन्द रहेका यहाँका बैंक आंशिकरूपमा खुल्न थालेपछि भिड बढेको हो । जेठ २३ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले एक महिनासम्म बन्द भएका बाणिज्य तथा विकास बैक दैनिक ३ घण्टा सञ्चालन गर्ने निर्णय गरेसँगै रकम झिक्ने र राख्नेको भिड बढेको हो ।

सेवाग्राहीहरू लाईन लागेर बैंकसम्म पुग्ने गरेका छन् । तर केही बैकले व्यवस्थित दूरी कायम गरेर कारोबार सञ्चालन गरे पनि कतिपय बैकको व्यबस्थापन फितलो देखिएको छ । जिल्लामा कोरोना संक्रमण दर उच्च हँुदै गएपछि गत बैशाख २५ गते देखि पाल्पामा सबै प्रकारका बैकिङ कारोबारमा रोक लगाइएको थियो । स्वास्थ्य मापदण्ड अपनाएर रकम झिक्न बैक आएको तानसेनका नगरपालिका ६ का मदन सिंह रानाले बताउनुभयो । एक महिनासम्म बैंक बन्द हँुदा दैनिकी छाक टार्नसमेत समस्या भएको, गाउँ गाउँमा रेमिट्यान्स बन्द हँुदा, दैनिक गुजारा चलाउन समस्या परेपछि कोरोनाबीच पनि चेक साट्न आएको तानसेनकी गृहणी सितादेवी पन्थीले बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र नेपाल एसबिआई बैंकमा मानिसको बढी भिड बढेको छ । राष्ट्रिय वाणिज्य तथा नेपाल बैंकमा पूर्व कर्मचारीको पेन्सन झिक्न, विभिन्न फर्म तथा व्यक्तिले राजश्व बुझाउनका लागि रकम झिक्ने सेवाग्राही बिहानैदेखि लाइनमा बस्ने गरेका छन् । भारतीय भुपु सैनिकको परिवारको पेन्सनका कारण नेपाल एसविआई बैंकमा पनि भिड बढेको छ ।

पाल्पामा दैनिक करोडौको रेमिट्यान्सको कारोबारसमेत हुने गरेको छ । बंैक जाने बाहनामा निषेधाज्ञाको अवज्ञा गर्ने गरेको सुरक्षाकमीले बताएका छन् । पाल्पामा दैनिक बिहान ७ देखि ९ बजेसम्म २ घण्टामात्र सञ्चालन हुँदै आएका तरकारी, मासु तथा फलफूल, किराना पसल पनि १ घण्टा बढाएर १० बजेसम्म सञ्चालन भएका छन्। बैंक तथा अत्यावश्यक पसल दैनिक ३ घण्टा सञ्ंचालनमा आएपछि बजारमा चहल पहल बढेको हो । पाल्पामा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।