मलेसियामा मैले कम्पनीबाट ‘चेकआउट मेमो’ गरेँ, हवाई उडान बन्द छ, अब के हुन्छ?

क्वालालम्पुर (मलेसिया):= ‘मैले कम्पनीबाट ‘चेकआउट मेमो निकालिसकेको छु’ तर कोरोनाको संक्रमणको कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ। त्यसैले नेपाल फर्किन पाएको छैन , अब के हुन्छ ?’ भिसा सकिएको अवस्थामा यसरी मलेसियामा रहँदा के हुन्छ त ? उडान सूचारु भएपछि जान पाइन्छ कि नाइ त ?

हाल मलेसियामा कार्यरत रहनु भएका तर रोजगारदाता र कम्पनीसंगको श्रम सम्झौता सकिएर स्वदेश फर्किनलाई तयारी अवस्थामा बसेका नेपालीहरुले सोध्ने प्रश्न र जिज्ञाशा यहीँ हो।

अहिले मलेसिया र नेपालबीच सिधा अन्तर्राष्ट्रिय उडान बन्द छ। भिसा अवधि पूरा गरेर स्वदेश फर्किन तयार रहेका हजारौँ नेपाली उडान नहुँदा अलपत्र परेका छन् । उडान सूचारु कहिले हुन्छ त्यसको केहि टुंगो पनि लागेको छैन, यसकारण ती नेपालीहरु अलमलमा परेका छन्।

यस् सम्बन्धमा मलेसिया स्थित नेपाली दूतावासकी तृतीय सचिव यशु बस्नेतले बताए अनुसार ‘चेकआउट’ गरेर बसेका नेपाली उडान सूचारु भएपछि त्यही कागजात,चेकआउट मेमोको आधारमा सहजै स्वदेश फर्किन पाउँछन्।

‘चेकआउट’ लिएर बसेका नेपालीलाई सम्बोधन गर्दै बस्नेत भन्छिन्, ‘तपाईँहरु जहाँ हुनुहुन्छ, त्यहीँ ठाउँमा नै सुरक्षितसाथ बस्नुहोला । उडान खुल्ने वित्तिकै त्यही ‘चेकआउट मेमो’ का आधारमा तपाईँ नेपाल जान सक्नुहुनेछ ।’ उनले यसरी ‘चेकआउट मेमो’ लिएकालाई धैर्य गरेर बस्न समेत आग्रह गरिन्। यसमा कुनै जरिवाना समेत नलाग्ने तृतीय सचिव बस्नेतको भनाइ छ।