एजेन्सी (लण्डन):= बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ । मेघनले शुक्रबार क्यालिफोर्नियास्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
यसअघि मेघनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन् । उनले ३.४ किलोग्राम तौल भएकी छोरी जन्माएकी छन भने हाल आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ।
छोरीको आगमनले खुसी भएका यो जोडीले महारानी एलिजाबेथ र ह्यारीकी दिवंगत आमा राजकुमारी डायनाको नाममा छोरीको नाम लिलिबेट ‘लिली’ डायना माउन्टबेटन–विन्डसर राखेका छन् ।
ह्यारी र मेगनले आफ्नो दोस्रो सन्तानको नाम रानीको पारिवारिक नाम लिलीबेट राखेको बताएका छन् । रानी एलिजाबेथ नवजात शिशुकी जिजुमुवा हुन् ।
उनको नाममा डायना पनि जोडिएको छ । दिवंगत प्यारी हजुरआमाको सम्मान स्वरुप चयन गरिएको प्रिन्स अफ वेल्स, प्रिन्स चार्ल्सले एक वक्तव्य जारी गर्दै भने । डायना प्रिन्स चार्ल्सकी जेठी श्रीमती हुन् ।
लिली स्थानीय समयानुसार शुक्रबार बिहान १०ः४० मा जन्मिएकी हुन् । जन्मका बेला उनको तौल लगभग साढे तीन केजी रहेको बताइन्छ ।
उनी रानीकी ११ औं पनातिनी हुन् र राजगद्दीकी आठौं उत्तराधिकारी हुन् । यसको अर्थ, सन् १९६० मा जन्मिएका बेला उत्तराधिकारीको सूचीमा दोस्रो स्थान पाएका प्रिन्स एन्ड्र्यू नवौं स्थानमा धकेलिएका छन् ।
प्रिन्स अफ वेल्स, प्रिन्स ह्यारीका पिता र डचेज अफ कर्नवाल क्यामिलियाले ट्वीटमा भनेका छन्, ‘ह्यारी, मेगन र आर्चीलाई लिलीबेट डायनाको आगमनमा बधाई छ । यो विशेष परिस्थितिमा उनीहरुको सुस्वास्थ्यको कामना गर्दछौं ।’
ड्युक र डचेज अफ केम्ब्रिज अर्थात् ह्यारीका दाजु भाउजुले भने, ‘हामी बेबी लिलीको आगमनको खबरले निकै खुसी र उत्साहित छौं ।’ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो जोडीलाई बधाईसहितको शुभकामना व्यक्त गरेका छन् ।




















