काठमाडौं:= नेपाली चलचित्र तथा म्युजिक भिडियोकी अभिनेत्री प्रकृति श्रेष्ठले आफूले यौन उत्पीडनको सामना गर्नुभएको खुलासा गर्नुभएको छ । प्रकृतिले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको प्रश्नमा इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौन उत्पीडनको सामना गर्नुपरेको बताउनु भएको हो ।
यसअघि यो बिषयमा केहि नबोल्नु भएकी प्रकृतिले लेख्नुभएको छ, ‘हो, मैले यौन उत्पीडनको सामना गरेको छु । जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ त्यसबेला । तर, म उनी हरूको अनुचित कार्यको बारेमा बोल्न डराइन् ताकि तिनीहरूले अर्को पटक मसँग वा अर्को कोहीसँग भेट्नुअघि दुई पटक सोचुन् ।’ म्युजिक भिडियोबाट करिअर सुरु गर्नुभएकी प्रकृतिले कोबाट यस्तो व्यवहार सहनु परेको थियो भन्ने चाहिँ खुलाउनु भएको छैन ।
प्रकृतिले नेपाली चलचित्रमा ‘होस्टेल’ बाट अभिनेत्रीको रूपमा डेब्यु गर्नुभएको हो । उहाँले त्यसपछि ‘जिन्दगी रक्स र उत्सव’ मा काम गर्नुभएको छ । विवाह गरेपछि उहाँ श्रीमानसँग अष्ट्रेलियामा बस्दै आउनु भएको छ । अहिले फेरि प्रकृतिलाई ६ वर्षपछि ठूलो पर्दामा देख्न पाइने भएको छ । चलचित्र ‘बिहे पास’को छायांकन सकिएको छ । प्रवेश पौडेलको निर्देशनमा बनेको चलचित्रमा प्रकेतिको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । चलचित्रमा प्रकृति र दयाहाङ श्रीमान्–श्रीमतीको भूमिकामा देखिनुहुनेछ । छायांकन सकेर प्रकृति अष्ट्रेलिया गइसक्नु भएको छ ।




















