काठमाडौं:= नेपालले विश्वकप छनोटअन्तर्गतको स्थगित खेलहरू बिहीबारबाट खेल्दैछ । विश्वकप छनोटमा नेपालले खेल्नुपर्ने आठ खेलमध्ये पाँच खेल कोरोना महामारी सुरु हुनुअघि नै खेलेको थियो । बाँकी तीन खेल नेपालले बिहीबारबाट तटस्थ भूमि कुवेतमा खेल्दैछ ।
नेपालले बिहीबार कुवेतको जबेर अल हमद अन्तर्राष्ट्रिय मैदानमा स्थानीय समयानुसार बेलुका सात बजे (नेपाली समय राति ९ः४५) चाइनिज ताइपेविरुद्ध खेल्दै यस सिजनको उद्घाटन गर्नेछ । खेलका लागि नेपाली टोली सोमबारै कुवेत पुगिसकेको छ । सोमबार कोरोना परीक्षणमा सबै टोलीको नतिजा नेगेटिभ आएपछि मंगलबार र बुधबार नेपाली टोलीले स्थानीय मैदानमा अभ्याससमेत गरेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताइपेविरुद्ध जितको उद्देश्यसाथ मैदान उत्रिने बताउनुभएको छ । बुधबार आयोजित भर्चुअल प्रि–कन्फ्रेन्समा उहाँले खेल प्रतिस्पर्धात्मक हुने र आफ्नो पक्षमा पर्ने लक्ष्यसहित मैदान उत्रिने बताउनुभयो । ‘कुवेतको मौसममा खेल्न नेपाल र चाइनिज ताइपेयी दुवै टिमलाई सजिलो हुने छैन । हामी छनोटको माथिल्लो स्थानमा उक्लने योजनासहित यहाँ आएका हौं,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि हामीले जितसहित चौथो स्थानमा आउनुपर्छ । जसले हाम्रो एसिया कप छनोटको बाटो बलियो बनाउन चाहन्छौं । त्यसैले हामी जित्नका लागि खेल्नेछौं ।’
छनोटको पहिलो चरणमा नेपालले चिइनिज ताइपेविरुद्ध २–० को जित निकालेको थियो । नेपालका लागि दुवै गोल अञ्जन विष्टले गर्नुभएको थियो । उक्तत खेलको स्मरण गर्दै प्रशिक्षक अलमुताइरीले भन्नुभयो, ‘हामीले पहिलो चरणमा विपक्षीलाई हराइसकेकाले हाम्रो मनोबल उच्च छ । हामीले भर्खरै इराकसँग पनि मैत्रीपूर्ण खेल खेलेका छौं । हामीसँग युवा र प्रतिभाशाली टिम छ । हामी यो टिममाथि धेरै दबाब दिन चाहँदैनौं ।’ कन्फ्रेन्समा ताइपेकाका प्रशिक्षक भोम चान्हुमले कुवेती मौसममा खेल्न गाह्रो हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा लागि सबैभन्दा ठूलो चुनौती कुवेतको मौसम छ । नेपाल सन्तुलित टिम छ । उसको आक्रमण र रक्षापंक्ति बलियो छ । हामीले नयाँ खेलाडी उतार्दैछौं, किनभने हाम्रा प्रमुख खेलाडी कोभिड महामारीका कारण टिममा आबद्ध हुन सकेनन् । नयाँ खेलाडीका लागि यो मौका हो ।’
विश्व कप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितीय सम्भावना त जीवत छ । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपालभन्दा पछि रहेको चाइनिज ताइपेले अंक जोड्न सकेको छैन । नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष चार स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउँछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्यको समूहको चौथो स्थानको तुलनामा शीर्ष चारमा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
विश्व कप छनोटमा पाँच खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराउनुबाहेक बाँकी सबै टोलीसँग पराजित भएको थियो । कुवेतसँग पहिलो खेलमा ७–० को हार व्यहोरेको नेपालले अर्को खेल १–० ले गुमाएको थियो । अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार व्यहोरेको थियो । नेपाली प्रशिक्षक अलमुताइरीले यसपटक ६ नयाँ खेलाडीलाई टोलीमा समेटेका छन् । त्यसबाहेक पछिल्लो टोलीबाट १० खेलाडीलाई मात्रै टोलीमा राखेका छन् । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, दीप कार्की र विशाल सुनार, डिफेन्डरमा अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल र विकास खवास हुनुहुन्छ ।
यस्तै मिडफिल्डरमा एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहनुभएको छ । त्यसबाहेक फरवार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा र सुमन लामा हुनुहुन्छ । गतसाता इराकसँग एउटा मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोली आइतबार कुवेत पुगेको छ । जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै नेपालले विश्व कप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रको अन्त्य गर्नेछ ।




















