धनगढी:= यतिबेला कोरोना महामारीले सुदूरपश्चिम प्रदेशका दुर्गम बस्तीहरूमा समेत सन्त्रास फैलाएको छ । केही दिनदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँ बस्तीमा कोभिडको जस्तै लक्षणसहित बिरामी हुनेको संख्या बढेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । खासगरी पहाडी जिल्लाका ग्रामीण भेगमा भाइरल ज्वरोको प्रकोपसमेत फैलिएको हो । तर, ग्रामीण भेगमा एन्टिजेन किटको अभाव भएकाले बिरामी परेका सबैको स्वास्थ्य परीक्षण गर्न समस्या भएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ज्वरो मात्रै नभई कोभिड संक्रमण भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको भन्दै स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमध्ये सबैभन्दा उच्च संक्रमण दर अछाम जिल्लामा रहेको बताइएको छ ।
परीक्षण गर्दा ५० प्रतिशतमा कोरोना पुष्टि
अछाम जिल्लाका सबै स्थानीय तहमा कोभिडको संक्रमण फैलिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । जिल्लामा कुल परीक्षणको ५१ प्रतिशतमा कोभिड पुष्टि हुन थालेको छ । तर, स्वाब परीक्षण गर्न भने स्थानीयले रुचि नदेखाउँदा थप समस्या भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताउनुभयो । ‘अछाममा गाउँभर बिरामी छन् । १० जनामा परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भइरहेको छ । जिल्लाका सबै स्थानीय तहमा बिरामी छन् । अस्तिसम्म ५१ प्रतिशतमा कोभिड पुष्टि भएको थियो भने अहिले झन बढेको छ । कतिपय ठाउँमा परीक्षण गर्न नमान्दा पनि समस्या भएको छ । जिल्लामा परीक्षण किटको पनि अभाव रहेको छ’ स्वास्थ्य कार्यालय प्रमुख ढुंगानाले भन्नुभयो ।
कोरोना माहामारीले विकराल रूप लिएको अवस्थामा सुदूरपश्चिमको हिमाली जिल्ला बाजुराका दुर्गम बस्तीहरूमा समेत कोभिडसँग मिल्ने लक्षणसहित ज्वरोको प्रकोप बढेको छ । ‘खासगरी ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता समस्या भएका बिरामी जिल्लाको हिमाली गाउँपालिका, जगन्नाथ र स्वामीकार्तिक गाउँपालिकामा बढेको छ । अन्य स्थानीय तहमा पनि बिरामी बढेको भन्ने सूचना आएको छ । परीक्षणका लागि एन्टिजेन किट नहुँदा समस्या भएको छ ।’ स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भन्नुभयो ।
अर्को हिमाली जिल्ला दार्चुलामा पनि कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेको स्वास्थ्य अधिकारीले बताएका छन । ‘जिल्लाका सबै स्थानीय तहमा बिरामी देखिएका छन् तर एन्टिजेन किट अभावले गर्दा कडा लक्षण भएकाहरूमा मात्रै परीक्षण गर्दा लगभग ४० प्रतिशतमा कोभिड पुष्टि भइरहेको छ ।’ स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले भन्नुभयो ।
डोटीको शिखर नगरपालिका र बोगटान गाउँपालिकामा कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालयले डोटीले जनाएको छ । बिरामीको संख्या बढेको ती स्थानीय तहमा औषधि सहितको टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धव ठगुन्नाले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा कोभिड माहामारीकै बीचमा धेरै नेपाली भारतबाट घर फर्किएका थिए । भारतबाट घर फर्किदा सीमानामा सबैको अनिवार्य स्वास्थ्य परीक्षण गर्न नसक्दा गाउँ गाउँसम्म कोभिड संक्रमण फैलिएको अनुमान गरिएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ र डडेल्धुराका ग्रामीण बस्तीहरूमासमेत कोभिड फैलिइरहेको भन्दै चिन्ता गरिएको छ ।
चिकित्सकहरूले कोरोना महामारीकै बीच स्वास्थ्य सम्बन्धी त्यस्ता समस्याका लक्षण देखिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने औल्याइएका छन् । सबै भाइरल ज्वरो कोरोना नभएपनि त्यस्ता समस्या देखिएपछि रोगले जटिल अवस्था सिर्जना गर्नुभन्दा पहिले नै सावधान अपनाउन चिकित्सकहरूले सुझावसमेत दिएका हुन् ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निशान भट्टराईले हाल मौसम परिवर्तनका कारणले पनि भाइरल ज्वरोको समस्या दिएको तर भाइरलको लक्षण पनि कोरोनाकै लक्षणसँग मेल खाने भएकाले पिसिआर परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । समयमा परीक्षण नगराउँदा र त्यतिकै औषधि सेवन गर्दा झन् जटिल समस्या सिर्जना हुन सक्ने बताउँदै उहाँले परीक्षण र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने सल्लाह दिनुभयो । उहाँले अगाडि थप्नुहुन्छ, ‘यो विषम परिस्थितिमा सामान्य स्वास्थ्य समस्या भन्दै रोग लुकाउनु भनेको मृत्युलाई नै आमन्त्रण गर्नु जस्तै हो । स्वास्थ्य समस्या देखिएपछि समयमा उचित स्थानमा गई रोग पत्ता लगाएर समाधानको बाटो खोज्नु उत्तम विकल्प हो ।’




















