काठमाडौं := अनलाइन टिभी पत्रकार संघले पत्रकारिताको मर्मविपरीत युट्युबका माध्यममा गलत प्रसारण गर्नेहरूलाई तत्काल कारबाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरेको छ। संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरूलाई कारबाही गर्न माग गर्नुभएको हो ।
युट्युबलगायत विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्मविपरीत गरेकाले गलत गर्नेलाई कारबाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । अनलाइन टिभीका क्षेत्रमा यसअघि विकृति हुँदै आएकामा पछिल्ला दिनमा ‘प्रयांक’का नाममा थप विकृति देखिन थालेको भन्दै संघले काउन्सिलको ध्यानकर्षण गराएको हो ।

केही युट्युब च्यानलबाट अति उच्छृंखल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्तविपरीतका सामग्री प्रसारण भइरहेको संघले जनाएको छ । संघले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी कानुन र त्यसभन्दा बाहिरकालाई अन्य कानुन अनुसार कारबाही गर्न–गराउन काउन्सिललाई आग्रह गरेको छ ।
ं
संघको ज्ञापनपत्र बुझेपछि काउन्सिलका कार्यवाहक अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारबाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाउनुभयो । उहाँले पत्रकार आचारसंहिता मान्नुपर्ने आफूहरूको पहिलो शर्त हुने र नमान्नेप्रति कुनै सहानुभूति हुनै नसक्ने स्पष्ट पार्नुभयोे ।
अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरूलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको बुढाथोकीले जानकारी दिनुभयो । सूचीकृत हुन नआउनेलाई काउन्सिलले नचिन्ने पनि उहाँले बताउनुभयो । उहाँले अनलाइन टिभीको क्षेत्रमा शुद्धीकरण र सुदृढीकरणका लागि संघसँग सबै प्रकारका सहयोग, सहकार्य र समन्वय गर्न काउन्सिलले चाहेको जानकारी दिनुभयो ।
नेपालमा इन्टरनेटको माध्यमबाट प्रसारण भइरहेका अनलाइन टिभीमा देखिएका समस्या र विकृति न्यूनीकरण गर्न पहल गर्ने, यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरण गर्नेलगायतका उद्देश्यले संघ गतवर्ष दर्ता भएको हो ।
विसं २०७६ माघ २४ गते काठमाडौंमा भएको अनलाइन टिभी सञ्चालकहरूको प्रथम राष्ट्रिय भेलाले अनलाइन टिभी पत्रकार संघ गठन गर्ने, प्रचलित पत्रकार आचारसंहिता पालना गर्ने, स्वनियमनमा आधारित निर्देशिका बनाएर लागू गर्नेलगायत निर्णय गरेको थियो । भेलाको निर्णयानुसार गठन भई दर्ता भएको संघले पत्रकार आचारसंहिता र आफ्नै स्वनियमन निर्देशिका मान्नुपर्नेलगायत सदस्यता मापदण्ड बनाएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
मापदण्ड मान्नेलाई मात्रै सदस्यता दिइने, सदस्यहरूको हकहित र कल्याणका कार्य गर्ने, क्षमता वृद्धि गर्ने, जिम्मेवार बनाउने, अनलाइन टिभी क्षेत्रका बारेमा अध्ययन, अनुसन्धान गर्नेलगायत काम पनि संघले गर्दै आएको छ ।
नेपालमा अहिलेसम्म के–कति अनलाइन टिभी छन् र उनीहरूको अवस्था के छ भन्नेबारेमा कुनै विवरण छैन । अनलाइन टिभीमार्फत रचनात्मक र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएका सञ्चारकर्मीलाई राज्य र पत्रकारिताका निकायसँग समन्वय गराउने उद्देश्य संघले लिएको उहाँले बताउनुभयो ।
सो अवसरमा संघका उपाध्यक्ष कुशलव केसी, सचिव सरोज गिरी, कोषाध्यक्ष शोभराज बराललगायत र काउन्सिलको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, प्रवक्ता दीपक खनाल, सूचना अधिकारी रामेश्वर बोहोरालगायत सहभागी हुनुभएको थियो ।




















