काठमाडौं := नेपालमा दोस्रो लहरको कोरोना भाइरसको अवस्था दिनप्रतिदिन बिगँ्रदै गइरहेका बेला नेपाली राजनीतिमा निकै हलचल भइरहेको छ । रोगसँग लड्न लाग्नुपर्ने अवस्थामा राजनीतिक पार्टी आफ्नै कुर्सी जोगाउन दौडधूप गरिरहेका छन् । दिनहुँ झण्डै दुई सय जना आसपासमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यस्तो अवस्थामा बाहिरी देशले सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन् भने कतिले गरिरहेका छन् ।
केही समयअघिमात्रै बेलायतको संसद्मा नेपालको हालको कोभिडको अवस्थाबारे भएको छलफल र नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर अभिनेता राजेश हमालले आफ्नो धारण राख्नु भएको छ । महामारीले उत्पन्न गराएको यो परिस्थितिमा नेपाली राजनीति गञ्जागोल हुनु ठूलो विडम्बना रहेको राजेशले बताउनुभएको छ । आइतबार फेसबुकमा एक भिडियो साझेदार गर्दै उहाँले नेपाल सरकारको आजको प्राथमिकता के हो ? भन्ने कुरामा मनन् गरेर त्यसको गम्भीरता देखाउनुपर्नेमा राजनीति किचलोमा फसेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
हमालले नेपालको राजनीति दल र सरकारलाई अहिलेको प्राथमिकतामा ध्यान दिन आग्रह ग्रर्दै भन्नुभएको छ, ‘हाम्रो प्राथमिकता भनेको जुन परिस्थितिबाट नेपाल गुज्रिरहेको छ, त्यसबाट कसरी पार गराउन सकिन्छ ? कसरी उम्काउन सकिन्छ भन्नेमै सम्पूर्ण ऊर्जा र बुद्धि विवेक खर्चिनुपर्ने हो । तर, त्यो नभएर हाम्रो सरकार, राजनीति खिचातानी मै रुमल्लिरहेको छ ।’
यो समयमा कूटनीति च्यानलहरूलाई सशक्तरूपले अगाडि बढाए विश्वको ध्यान नेपालमाथि अझ सशक्त रूपमा जाने हमालले बताउनुभएको छ । हालको परिस्थितिबाट उम्कन धेरै नेपालीलाई खोप लगाउन र भ्याक्सिनेटेड गर्नु रहेको उहाँको भनाइ छ । एक तिहाइ जनतालाई सरकारले कोभिडको खोप लगाउन सके हालको परिस्थितिबाट पार लाग्नसक्ने राजेशको विश्वास रहेको छ ।




















