क्रिस्टियानो रोनाल्डोलाई गोल्डन बुट।

एजेन्सी := युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ फुटबलको गोल्डेन बुट अवार्ड जित्नुभएको छ । इटालियन सिरी ‘ए’ फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जित्नुभयो ।

रोनाल्डोले च्याम्पियन टिम इन्टर मिलानका रोमेलु लुकाकुलाई पछि पार्दै गोल्डेन बुट अवार्ड जित्नुभएको हो । रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गर्नुभयो । उहाँले तीन गोलमा सहायकको भूमिकासमेत निभाउनुभएको थियो । लुकाकुले ३६ खेलमा २४ गोल गर्नुभएको थियो ।

यससँगै रोनाल्डोले युरोपको शीर्ष तीन लिगमा गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडीको कीर्तिमान बनाउनुभएको छ । रोनाल्डोले यसअघि प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसक्नुभएको छ । रोनाल्डो युरोपको शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी हुनुहुन्छ । यता इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरका फरवार्ड हृयारी केनले सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट प्रदान गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि जित्नुभयो ।

केनले जारी सिजन २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जित्नुभएको हो । लिभरपुरका मोहम्मद सलाह २२ गोलसहित दोस्रो स्थानमा रहनुभयो । म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस १८ गोलसहित तेस्रो स्थानमा हुनुहुन्थ्यो । यस्तै केनले सर्वाधिक असिष्ट गर्दै उत्कृष्ट प्लेमेकरको उपाधि पनि जित्नुभयो। उहाँले सिजनभर १४ गोलमा असिष्ट गर्नुभएको थियो ।

प्रिमियर लिगको गोल्डेन ग्लोभको उपाधि म्यानचेस्टर सिटीका गोलरक्षक एडरसनले जित्नुभयो । उहाँले लिग अवधिभर १९ खेलमा गोल व्यहोर्नुभएन । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पे सर्वाधिक गोलकर्ता रहनुभयो । उहाँ लिगको सर्वोत्कृष्ट खेलाडी बन्नुभयो । लिगमा ३१ खेल खेल्दै उहाँले २७ गोल गर्न सफल रहनुभएको थियो ।