बारा:= बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरका अब्दुल गफार अंसारीको वंश नै सिध्याउने गरी तीनका दुबै छोराहरु ९ वर्षिय अमान र ७ वर्षिय उस्मान अंसारीको हत्या अभियोगमा बारा प्रहरीले आईतवार एक जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतबार एक प्रेस विज्ञप्ती जारी गरी हत्या अभियोगमा कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरकै अब्दुल रहिम मियाँका २५ वर्षिय छोरा फर्मुल्लाह अंसारीलाई सार्वजनिक गरेको हो ।
अभियुक्त अंसारी र मृतकहरुको आमा बीच अनैतिक सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
मृतक बच्चाहरुले आमा मिना खातुन र अभियुक्त अंसारी बीचको सम्बन्ध बारे बाबु अब्दुल गफार अन्सारीलाई ईदमा बुबा घर आएपछि बताउने भनेपछि अंसारी त्रशित भएका थिए । प्रेम सम्बन्धकै कारण ईदमा खातुन र अंसारीको भारत भाग्ने योजना मृतक बच्चाहरुकै कारण असफल भएको प्रहरी अनुसन्धानबाट खुलेको प्रनाउ मिश्रले बताउनुभयो ।
मिनासंग लिएको ऋण पचाउने र मिना तथा अंसारी बीचको अनैतिक सम्बन्धको रहस्य लुकाउन दुबै बच्चाहरुको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय मृतकहरुको आमा मिना र अंसारीबीच तिक्तता बढी उनीहरु टाढिदै गएका थिए । अंसारीले लामो समय देखी खानेकुरा दिएर बच्चाहरुलाई गाउँमा डुलाउने गरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।
ज्यान मार्ने नियतले खानेकुरा दिएर बच्चाहरुलाई एकान्तमा लगेर अन्सारीले हत्या गरेको प्रहरीको दाबी छ ।
अंसारीको घरबाट प्रहरीले छापामारी एक थान धारिलो हतियार छुर्रा र उनले लगाउने बेल्टमा रगतको छिट्टा समेत फेला परेको उहाँले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले ५० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । कर्तव्य ज्यान मुद्दामा अंसारीलाई हिरासतमा राखी थप अनुन्धान भईरहेको उहाँले बताउनुभयो ।
गत मंगलवार धारिलो हतियारले घाटी रेटेर दुबै बच्चाहरुको हत्या गरिएको थियो । दुबै बच्चाहरुको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुरमा रहेको मदर्सा सलफिया कन्जुलमको नव निर्मित भवनमा जेठ ४ गते बिहान रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।
फोटो : अमान र उसमान अंसारीको हत्या अभियोगमा पक्राउ परेका कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फर्मुल्लाह अंसारी । 




















