काठमाडौं := नेपालमा डबल भेरिएन्टसहितको दोस्रो लहरको कोभिड १९ दिनप्रतिदिन तीव्र रूपमा फैलिरहँदा देशैभरका स्वास्थ्यकर्मीहरू निकै खटिएका छन् । सरकारले देशैभरका विभिन्न अस्पतालमा कोभिडको उपचार गर्ने व्यवस्था मिलाएको छ । सातै प्रदेशमा ३० वटा अस्पतालमा निःशुल्क उपचार गर्न सकिनेसमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यति हुँदाहुँदै संक्रमणदर तथा मृत्युदर घट्न सकेको छैन । सरकारले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई सहयोग गर्न आहृवान गरेको छ ।
यसैबीच स्वास्थ्यकर्मीबाहेक अन्य कलाकार तथा सर्वसाधारण कोरोनाको महामारीमा फिल्डमै खटिएका छन् । विभिन्न स्वास्थ्य सामग्री अभाव भइरहँदा स्वास्थ्यकर्मीले यसलाई व्यवस्थित गर्न नसकिरहेको अवस्थामा कलाकार जुटेको देखिन्छ । विशेषगरी अहिले अक्सिजन सिलिन्डरको अभाव देखिएकाले विगत केही सातादेखि निरन्तर केही कलाकार फिल्डमै खटिएर सहयोग गरिरहनु भएको छ ।
झण्डै एक महिनाअघिदेखि नै नायक पल शाह फिल्डमै उत्रिएर विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर उपलब्ध गराइरहनु भएको छ । उहाँले ‘हाम्रो टिम नेपाल’ संस्थासँगको सहकार्यमा काठमाडौंलगायत नजिकका आसपास जहाँ अक्सिजन सिलिनडरको अभाव छ त्यहाँ पुगेर सहयोग गरिरहनु भएको छ । यस्तै गायक दुर्गेश थापा पनि पलकै टिममा हुनुहुन्छ । यस्तै हास्य अभिनेता तथा सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मुस) गएको सातादेखि निरन्तर फिल्डमै खटिनुभएको छ । उहाँको सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ठाउँमा पुगेर अक्सिजन सिलिन्डर उपलब्ध गराएको दृश्य देख्न पाइन्छ । धुर्मुससँग सामाजिक अभियान्ता अर्जुन भुसाल पनि सँगै हुनुहुन्छ ।
धुर्मुसले तत्कालको आवश्यकताका आधारमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० वटा र चितवन मेडिकल कलेज भरतपुर चितवनलाई ५० वटा हस्तान्तरण गरेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘महामारीबाट कसैको अकालमा ज्यान नजाओस् भनी यो विषम परिस्थितिमा हामी सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्दै अघि बढेका छांै । समन्वयकारी भूमिकाका लागि जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय बाराप्रति अत्यन्तै आभारी छौं ।’
कतिमय कलाकारहर फिल्डमै नखटिए पनि विभिन्न स्वास्थ्य सामग्री खरिदका लागि आर्थिक सहयोग गर्नुभएको छ । केही दिनअघिमात्रै अभिनेता नाजिर हुसेन र हाँस्य अभिनेता राजाराम पौडेलले राष्ट्रिय आविष्कार केन्द्रलाई एक–एक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । यस्तै कलाकार दीपकराज गिरी र केदारप्रसाद घिमिरेलगायतको टिमले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्नुभएको छ ।




















