काठमाडौं:= नेपालमा अहिले नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिरहेको बेला अक्सिजनको अभाव भइरहेको छ । दैनिक २ सय बढीको मृत्यु र ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।
अक्सिजन नपाएर अस्पतालको बेडमा छट्पटाइरहेकाको जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरूले सहयोगी हात अगाडि बढाएका छन् । पल शाह, राजाराम पौडेल, पुष्प खड्का, श्वेता खड्कालगायतका फिल्मकर्मीले अक्सिजन जुटाउन आर्थिक सहयोग गर्नुभएको छ । पल शाह त कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन आफैं फिल्डमा खटिनुभएको छ ।
यसैक्रममा, अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन आर्थिक सहयोग गर्नुभएको छ । उहाँले मंगलबार नेपाली वैज्ञानिक महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई रु.एक लाख नगद सहयोग गर्नुभएको हो । यो संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
सहयोग हस्तान्तरणपछि नाजिरले भन्नुभएको छ, ‘दर्शककै साथ र मायाले आज म यहाँसम्म आइपुगेको हुँ । आज उहाँहरूलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्नु हुँदैन भनेर सहयोग गरेको हुँ । कोरोना महामारीको समयमा हामी सबैले आफूले सकेको सहयोग गर्नुपर्छ । मैले मेरोतर्फबाट गरेको यो सानो सहयोगले कसैको जीवन बच्न मद्धत मिल्छ भन्ने अपेक्षा गरेको छु ।’




















