काठमाडौं:= नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले कोरोना महामारीको दोस्रो लहरमा सघाउन अभियान सुरु गर्नुभएको छ । सन्दीपले कोरोना रोकथा, नियन्त्रण तथा संक्रमितहरूको उपचारका लागि आर्थिक राहात संकलन अभियान सुरु गर्नुभएको हो ।
सन्दीपले उक्त अभियानको सुरुवात आफंै तीन लाख रूपैयाँ जम्मा गरेर गर्नुभएको छ । उहाँले सहयोगका निम्ति सबैलाई आग्रह गर्नुभएको छ । ‘अनियन्त्रियण हुँदै गएको यस विषम परिस्थितिमा तपाइँ हामी सबैले दृढ आत्मबलका साथ फेरि एकचोटि नेपाल र नेपाली जनताका निम्ति, एकजुट भई आपसी सद्भाव र सहकार्यले यस कठिन समयको सामना गर्नु पर्ने बेला आएको छ,’ सन्दीपले भन्नुभएको छ, ‘हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोनाविरुद्धको यो लडाइँ पक्कै जित्न सक्छौं ।’
उहाँले संकलन गरिएको रकमको पारदर्शी रूपमा हिसाबकिताब सार्वजनिक गरिने जानकारी दिनुभएको छ । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने उहाँले जनाउनुभएको छ ।
‘एकजुट भई आआफ्नो तर्फबाट सहयोग गरिदिनुहुन देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तकमा हार्दिक अनुरोध गर्दछु,’ सन्दीपले भन्नुभएको छ, ‘सहयोगका निम्ति आजैमात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड संक्रण रोकथाम, नियन्त्रण एवं संक्रमितको उपचारका निम्ति उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु ।’ सहयोगका लागि सन्दीप लामिछानेको नाममा रहेको सेञ्चुरी कर्मसियल बैंक लिमिटेडको खाता नम्बर ०१७००००३५३ मा सहयोग रकम जम्मा गर्न सकिने सन्दीपले जनाउनुभएको छ ।
पछिल्लो समय नेपालमा अनियन्त्रित रूपमा संक्रमण फैलिरहेको छ । सोमबारमात्रै नेपालमा नौ हजार २४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । यस्तै सोमबारमात्रै नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा पाँच हजार २१५ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव देखिएको हो । यस संक्रमणमा मृत्युदर बढी छ । बिरामीहरूले अस्पतालका बेड नपाएर भुईंमै उपचार गर्नुपर्ने अवस्था देखिएको छ । सन्दीपले यस्तो बेला एकअर्कालाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले खेलाडीहरूमा समर्थक हुने भएकाले आफ्ना समर्थकहरूलाई एकजुट भएर कोरोनाविरुद्धको लडाइँमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
सन्दीप नेपाली क्रिकेट टोलीका स्टार खेलाडी हुनुहुन्छ । उहाँ भारतको चर्चित इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने एकमात्रै नेपाली खेलाडीसमेत हुनुहुन्छ । त्यसबाहेक सन्दीपले अष्ट्रेलिया, वेष्ट इण्डिज, यूएई, क्यानडा, पाकिस्तान, बंगलादेशलगायत देशका फ्रेन्चाइज क्रिकेट प्रतियोगितासमेत खेलिसक्नु भएको छ । चितवनका सन्दीप हाल काठमाडौंको बूढानीलकण्ढमा बस्दै आउनुभएको छ ।




















