डा.बाबुराम भट्टराईले स्विकार्दै भने- हो मैले राति १ बजे प्रधानमन्त्री ओलीलाई भेटेकै हुँ।

काठमाडौं := जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पार्नु भएको छ ।कोरोना महाविपत्ति उन्मुख देशलाई निकास दिन ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको भट्टराइले स्पष्टीकरण दिनु भएको छ ।

एमालेका नेता महेश बस्नेतले प्राइम टेलिभिजनको एक कार्यक्रममा बाबुराम भट्टराई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न राति १ बजे बालुवाटार गएको बताएपछि भट्टराइको यस्तो स्पष्टीकरण आएको हो । बस्नेतले बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री ओलीलाई दुई पटक राति १ बजे भेटेको खुलासा गर्नु भएको थियो ।

भट्टराइले वर्तमान तथा पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको तर, उहाँले नमानेपछि अरुलाई नभनेको बताउनुभयो ।प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुअघि डा. भट्टराइले वर्तमान प्रम र पूर्व प्रम बाहेकबाट सबै दलको प्रतिनिधित्व हुने गरी राष्ट्रय सहमतीय सरकार बनाउन आग्रह गर्दै ट्विट गर्नु भएको थियो ।

उहाँले अझै पनि धारा ७६ (५) बमोजिम सरकार बनाउन सकिने हुँदा अझै सोच्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ ।