एनएसएल फुटबल खेलमा १-० को गोल अन्तरले काठमाडौं बने च्याम्पियन।

काठमाडौं:= नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो।

जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत रहेका मेसोके उत्कृष्ट मिडफिल्डर चुनिए।सुरुबाटै आक्रमक देखिएको काठमाडौंले पटकपटक आक्रमण गरेको थियो। खासगरी मेसोके र स्टेफिन बिनोङको पटकपटकको उत्कृष्ट प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले रोकिदिएका थिए। उता धनगढीका सर्वाधिक गोलकर्ता ओलावाले अफिज चोटका कारण चल्न सकेनन् भने आक्रमण राम्रो बुनेर पनि धनगढी फिनिसिङमा पटकपटक चुकेको थियो।

त्यस्तै, प्रतियोगिताको उत्कर्ष्ट डिफेन्डरमा धनगढीका दिनेश राजबंशी बन्दा धनगढीकै कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलकिपर बने। त्यस्तै, काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक बने। व्यक्तिगत विधामा उत्कृष्ट बनेका सबैले १/१ लाख प्राप्त गरे भने इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट बनेका विश्वास श्रेष्ठले ५० हजार हात पारे।

प्रतियोगिताको फेयर प्ले अवार्ड बुटवल लुम्बिनी एफसीले जित्यो। प्रतियोगिताको विजेता काठमाडौं रेजर्सले ३५ लाख र उपविजेता धनगढी एफसीले १५ लाख प्राप्त गरे।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, पोखरा थण्डर्स, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो।