अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा नेपाली अलपत्र, चार्टर उडानको तयारी छैन।

काठमाडौं := कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि केही देशले नेपाललाई रेड जोनमा राखेका छन् । नयाँ ‘भेरियन्ट’को कोरोना भाइरसको संक्रमण फैलिएसँगै बेलायतले नेपाललाई गत शुक्रबारदेखि ‘रेड जोन’मा राखेको छ ।

रेड जोनमा परेपछि नेपालीहरू तत्काल बेलायत जान पाउने छैनन् । बेलायतले नेपालको अन्तर्राष्ट्रिय उडान रोकेपछि टिकट लिएका १ हजरभन्दा बढी नेपाली रोकिएका छन् । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि मलेसिया र जापानले पनि नेपाललाई रेड जोनमा राख्ने संकेत गरिसकेका छन् ।

कोरोना भाइरसका संक्रमण फैलिने क्रम बढे यूएई, ओमान, कुवेत, बहराइन र साउदीले समेत नेपालको हवाइ उडानमा प्रतिबन्ध लगाउने जनाएका छन् ।

दूतावाससँग गुहार

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि करार अवधि सकिएका र घर विदामा फर्किन टिकट लिएका कामदारहरूले टिकटको अवधि सकिन लागेको भन्दै सम्बन्धित देशका कूटनीतिक नियोगसँग गुहार माग्न थालेका छन् ।करार अवधि सकिएका कामदारले स्वदेश फर्कने वातावरण मिलाइदिनु पर्‍यो भन्दै धाउन थालेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि टिकट लिएर स्वदेश फर्किन नपाएका कामदार समस्यामा पर्ने डरमा छन् । उनीहरूले तत्काल स्वदेश फर्किने वातावरण मिलाइदिन आग्रह गर्न थालेको कतारस्थित नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले जानकारी दिए । टिकट लिएका, रोजगारी गुमाएका र रोजगारीका क्रममा मृत्यु भएका कामदारलाई स्वदेश फकिने प्रबन्ध मिलाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

टिकट लिइसकेका नेपालीले स्वदेश फर्कने व्यवस्था गरिदिन आग्रह गर्दै आउन थालेको यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कामदारको शव पठाउन पनि समस्या हुन थालेको मलेसियास्थित नेपाली दूवावासले जनाएको छ । करार अवधि सकिएका अथवा टिकट लिएका कामदार खानबस्न समस्या हुने भन्दै धाउन थालेको दूतावासले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करार अवधि सकिएका, आममाफी पाएका, घरेलु महिला कामदार, बिरामी परेका कामदार, कैद भुक्तान गरेका, गर्भवती र सुत्केरीहरूलाई स्वदेश फर्कन समस्या भइरहेको दूतावासहरूले जनाएका छन् । स्वदेश फर्किने तयारीमा रहेका १० हजारभन्दा धेरै कामदार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिनु परेको दूतावासहरूको अनुमान छ । अन्तर्राष्ट्रिय उडान बन्द हुने समय बढे २५ हजारबढी नेपाल कामदारलाई उद्धार गर्नुपर्ने अवस्था आउने दूतावासहरूले जानकारी दिएका छन् ।

चार्टर उडानको तयारी छैन : सीसीएमसी

कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा हजारौँ नेपाली अलपत्र पर्न थाले पनि कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले उद्धार चार्टरको तयारी नभएको जनाएको छ ।

सरकारले तत्काल चार्टर उडानका विषयमा तयारी नगरेको सीसीएमसीका खगराज बरालले बताए । अन्तर्राष्ट्रिय उडान बन्द हुने समय लम्बिए नेपालीको उद्धारका लागि सरकारले व्यवस्थापन गर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा अलपत्र परेका र टिकट लिएर रोकिएका नेपालीलाई चार्टर उडानमार्फत उद्धार गर्ने विषयमा अहिलेसम्म आधिकारिक निर्णय नभएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । source : रमेश भारती/शिलापत्र