रोजी रोटी,गुजारा नचलेपछि भारत पुगेकाहरू फेरि स्वदेशतिरै फर्किए।

[ देवेन्द्र खड्का ] 

महेन्द्रनगर:= कञ्चनपुरको गड्डाचौकी नाकामा शुक्रबार बिहान बझाङका दीपेन्द्र बोहरा घर जान गाडी पर्खिरहनुभएको थियो । नाकामा झोलाझिम्टिसहित गाडी कुरिरहनुभएका बोहरा भारतमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर बढेपछि घर फर्किनुभएको हो । उहाँ गत वर्ष वैशाख १८ गते यसैगरी कोरोनाको डरले स्वदेश फर्किनुभएको थियो ।

तर, गाउँमा धेरै दिन गुजारा नचलेपछि उहाँ फेरि २०७७ साल भदौँ २० गते कोरोना महामारीबीच कामको खोजीमा भारत जानुभएको थियो । ‘पोहोर साल पनि इण्डियामा कोरोना बढेपछि यसरी नै झोला बोकेर घर आएको थिए ।’ बोहराले भन्नुभयो, ‘तर घरमा धेरै दिन बेरोजगार बसेर आफ्नो र परिवारको पेट पाल्न गाह्रो भएपछि २०७७ भदौ २० गते भोकले भन्दा बरु रोगैले मरौला भनेर फेरि भारत गएको थिएँ ।’ उहाँले अगाडि थप्नुभयो, ‘अहिले काम राम्रै चलिरहेको थियो, तर के गर्ने यो कोरोना फेरि आयो त्यही भएर नाका बन्द नहुँदै कोरोनाका डरले घर फकिएका हौँ ।’

उहाँसँगै नाकामा भेटिनुभएका हरिचन्द्र जोशी पनि घरमा पेट पाल्न गाहे भएपछि गत वर्ष भारत छिर्नुभएको थियो । ‘गत वर्षको लकडाउनमा घरमा त्यसै बसेँ साझ बिहान दुई छाक खान पनि गाहे भएपछि रोजगारीका लागि भारत गएको थिएँ ।’ जोशीले भन्नुभयो, ‘तर अहिले भारतमा कोरोना धेरै बढिरहेको छ । त्यहाँकै जनताले उपचार पाइरहेका छैनन् त्योे देखेर मरे पनि नेपालमै मरौँला भनेर घर फर्किएको हुँ ।’

त्यस्तै, बैतडीका दान सिंह कार्की भने रोजगारीका लागि केही दिन अगाडि मात्रै भारत जानुभएको थियो । ‘म नयाँ वर्ष खाएर वैशाख ७ गते रोजगारीका लागि भारत गएको थिए ।’ कार्कीले भन्नुभयो ‘तर के गर्ने भारतमा कोरोनाले मान्छे मरेको देख्दा डर लागेर गएको १० दिनमै ज्यान बचाएर घर फर्किएँ ।’ कार्की, जोशी र बोहरा जस्तै हजारौं नेपाली नागरिक अहिले भारतबाट स्वदेश फर्किरहेका छन् ।

 दुई दिनमा झण्डै चार हजार नेपाली स्वदेश फर्किए

भारतमा कोरोना भाइरस संक्रमणको उच्च चपेटामा परेपछि पुनः स्वदेश फर्किने नेपालीहरूको लर्को लागेको छ । गतवर्ष पनि भारतमा कोरोना भाइरस संक्रण बढेपछि नेपाल फर्किनेहरूको लर्को लागेको थियो । कञ्चनपुर जिल्लास्थित गौरीफन्टा र गड्डाचौकी नाकाबाट मात्रै दुई दिनमा तीन हजार ३८९ जना नेपाली स्वदेश फर्किएका छन् । कञ्चनपुरमा पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख १६ गतेदेखि जिल्लामा लकडाउन गरेको छ ।

यद्यपि, लकडाउन भएकै दिन एक हजार ३५३ जना पुरुष, ५४८ जना महिला र १६१ जना बालबालिका गरी एक हजार ६२९ जना नेपाल भित्रिएका थिए । यस्तै, वैशाख १७ गते एक हजार ३२७ जना पुरुष, ३२१ जना महिला र ११२ जान बालबालिका गरी एक हजार ७६० जना नेपाली स्वदेश फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार वैशाख १६ र १७ गते भारतको नाकामा गरिएको ४०३ जनाको एन्टिजेन परीक्षणमध्ये ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

कञ्चनपुरमा थप दुई जना संक्रमितको मृत्यु

कञ्चनपुरमा शुक्रबार थप दुई जना कोरोना सक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको भीमदत्त नगरपालिका–१८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–५ का ५० वर्षीय पुरुषको कोरोना कारण मृत्यु भएको हो । जिल्लामा पछिल्लो समयसम्म कोरोना कारण २९ जनाको मृत्यु भइसकेको छ ।