वीरगन्ज:= कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को निर्णयानुसार वैशाख १६ गते (बिहीबार)देखि लागू हुने गरी १ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको समयमा औषधि उपचारसहित अत्यावश्यक बाहेकका कामका लागि घरबाट बाहिर निस्किन र हिँडडुल गर्न नपाइने छ । यस्तै, वीरगन्ज–इनर्वा नाका बाहेक जिल्लाअन्तर्गत पर्ने भारतसँग जोडिएका अन्य नाकाबाट आवात जावतमा पूर्ण रोक लगाइएको छ। इनर्वा नाकाबाट प्रवेश गर्ने व्यक्तिले अनिवार्य स्वास्थ्य परीक्षण गराइ तोकिएका आइसोलेसन वा होम आइसोलेसनमा बस्नुपर्ने छ ।
पछिल्लो समय पर्सामा कोरोना संक्रमित बढ्दै गएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भए यता हालसम्म पर्सामा १७ जनाको मृत्यु भइसकेको छ ।





















