वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, यातायात बन्द हुने।

काठमाडौं:= काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बिहान बसेको बैठकले कोभिड १९ संक्रमणदर बढिरहेकाले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ।

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ। ‘गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो। काठमाडौं जिल्लामा मात्र आइतबार १  हजार भन्दा बढी कोरोना सङ्क्रमित थपिएका थिए।