[ सिताराम ओझा / प्रदीप पाठक ]
धनगढी:= भारतका केही राज्यहरूमा लकडाउन भएर रोजगारी गुम्न थालेसँगै अहिले पश्चिमी नाका भएर घर फर्कने नेपालीहरूको संख्या बढ्न थालेको छ । आउने दिनमा नेपाली सीमामा आइपुग्ने भिड अनियन्त्रित हुने देखिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । हालकै अनुपातमा आउँदो दिनमा पाँच लाखभन्दा बढी नेपाली स्वदेश फर्कने अनुमान प्रदेश सरकारको गरेको हो ।
तर, सुदूरपश्चिम प्रदेशमा उनीहरूको परीक्षण गर्नेदेखि लिएर उनीहरूलाई क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने व्यवस्थापनको तयारी भने निकै फितलो पाइएको छ । भारतको राजधानी नयाँदिल्ली र आसपासका क्षेत्र, गुजरात, महाराष्ट्र, केरला, तमिलनाडु, आन्द्र प्रदेश र उत्तर प्रदेशको लखनउ, कानपुर र आगरामा कोरोना भाइरस अहिले तीव्र गतिमा फैलिइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारतको ती राज्यहरूमा कतै लकडाउन, त कतै निषेधाज्ञा जारी गरिएको छ ।
भारतमा प्रवासी नेपालीहरूको अवस्था
भारतमा नेपालीहरू होटल, रेष्टुरेन्ट, सपिङ मललगायतका क्षेत्रहरूमा काम गर्ने गरेका छन् भने, कतिपय नेपालीहरू चाउमिन र ममका ठेलाहरू सञ्चालन गर्दै आएका छन् । अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भारतमा कोरोना भयावह बनेपछि नेपालीहरू रोगमरी र भोकमरीको त्रासले स्वदेश फर्किरहेको बताउनुभयो ।
भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपश्चात् मात्र झण्डै १५ सय नेपालीहरू कोभिड–१९ बाट संक्रमित भएका छन् । भारतको नयाँ दिल्लीमा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका इन्द्रकमल जैरुले पछिल्लो एकसाताको अवधिमा राजधानी नयाँ दिल्लीमा मात्र १० भन्दा बढी नेपालीहरूको कोभिडकै कारण ज्यान गएको बताउनुभयो । यथेष्ट तथ्याङ्क नभए पनि समग्र भारतमा करिब १७÷१८ जना नेपालीहरूले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेको उहाँको भनाइ छ ।
भारतमा संक्रमणसँगै मृत्यु दर पनि उच्च
भारतमा कोरोना भाइरस भयावह बनेको छ । पछिल्लो २४ घण्टामा मात्र तीन लाख ३२ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या एक करोड ६२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र दुई हजार २६३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । भारतका सरकारी अस्पतालहरू भरिभराउ छन्, अक्सिजनको अभाव खड्कीएको छ भने, औषधिको समेत कमी हुन थालेको छ ।
सुदूरपश्चिम पनि संक्रमणको उच्च जोखिममा
धनगढीनजिक रहेको गौरीफन्टा नाकामा गरिएको एन्टिजेन परीक्षणमा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमित देखिइरहेका छन् । अहिले नाकामा गरिएको कुल परीक्षणमा झण्डै १५ प्रतिशतमा कोरोना देखिन थालेको हो । भारतबाट ठूलो संख्यामा नेपालीहरू भित्रिए उनीहरूसँगै कोरोना पनि भित्रिएर विकराल रूप लिने निश्चित छ । तर, प्रदेशमा व्यवस्थापनको तयारी भने फितलो छ । भारतबाट नेपालीहरू ठूलो भिड कुनै पनि बेला सीमामा आइपुग्न सक्ने भए पनि सुदूरपश्चिम प्रदेशमा उनीहरूको परीक्षण गर्नेदेखि लिएर उनीहरूलाई क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने व्यवस्थापनको तयारी फितलो भएको भन्दै आलोचना हुने गरेको छ ।
कोरोना संक्रमितलाई राख्ने ठाउँ छैन : अस्पताल
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर तीव्र भएपछि अस्पतालहरू संक्रमितले भरिएका छन् । कोभिड– १९ का गम्भीर प्रकृतिका बिरामीको उपचार सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा मात्रै भइरहेकोमा दुवै अस्पताल संक्रमितले भरिएका हुन् ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उक्त अस्पतालमा अहिले ५४ जना संक्रमितको उपचार भइरहेको छ । ‘तीन जनाको भेन्टिलेटर र ११ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘२५ जनाको अक्सिजन दिएर उपचार भइरहेको छ भने मध्यम कडा खालका १५ जना संक्रमितलाई मोडरेटमा राखिएको छ ।’ गम्भीर प्रकतिका बिरामी थपिए अस्पतालमा राख्न ठाउँ नभएको उहाँले बताउनुभयो ।
सेती अस्पतालमा ५५ शैय्याको कोरोना अस्पताल रहेको छ । महाकाली अस्पताल पनि गम्भिर प्रकृतिका कोरोना संक्रमितले भरिएको छ । अस्पतालमा ४८ जना संक्रमितको उपचार भइरहेको बताउँदै सूचना अधिकारी नारद भट्टले भन्नुभयो, ‘६ जनाको आइसियु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
१५ जनालाई अक्सिजन सहायतामा राखिएको छ ।’ अस्पतालकै १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जनशक्तिको समेत चरम अभाव सिर्जना भएको उहाँले बताउनुभयो । विगतमा स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन बन्द गरिएपछि प्रदेशका दुई ठूलो अस्पतालमा बिरामीको चाप बढेको हो ।




















