मलेसियामा रहदा सिकेको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन।

वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ ।

प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए । एक वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा रु ६० लाखको लगानीमा दुई वटा भकारीमा माछापालन शुरु गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर रु एक लाख बचत भएको छ ।

हाल १६ कठ्ठा क्षेत्रफलमा फैलिएको फार्ममा माछा, कुखुरा र बाख्रापालन भइरहेको छ । आगामी दिनमा १० कठ्ठा जमिन लिजमा थपेर व्यवसाय विस्तार गर्ने उनको योजना छ । आगामी दिनमा कुखुराको दाना उत्पादनलाई समेत प्राथमिकतामा राखिएको उनले बताए ।

माछा र कुखुरा किन्न स्थानीयवासी फार्ममै आइपुग्ने गरेका छन् । “स्वदेश फर्केर यही विधिबाट माछा पाल्ने सोचेको थिएँ”, उनले भने, “अहिले दाजुसँग मिलेर फार्म दर्ता गरी माछा र कुखुरा पाल्दैछौँ ।” तीन वर्ष मलेशियामा बिताउँदा उनले इन्डोनेशियाली प्रविधिमा आधारित माछापालनलाई नजिकबाट नियालेको बताए ।

यो प्रविधिअनुसार माछा पाल्नका लागि जमिनमा पोखरी खन्नु पर्दैन । जमिनमाथि नै प्लास्टिकको भकारीमा पानी भरिन्छ र माछाका भुरा छाडिन्छ । यसरी भकारीमा एकपल्ट भरिएको पानी माछा हुर्किन्जेलसम्म काम लाग्छ । माछालाई सास फेर्न सहज होस् भनेर पानीमा अक्सिजनको मात्रा बढाउन मेशिन जडान गरिन्छ । माछाको आहार त्यही भकारीमा हालिन्छ । सुनिललाई यो व्यवासायमा दाजु दीपक शिवाकोटीको दर्बिलो साथ छ । दीपक पनि सशस्त्र प्रहरीमा सात वर्षको जागिर छाडेर माछापालन व्यवसायमा लागेका हुन् ।

शिवाकोटी दाजु–भाइले जमिनमाथि भकारी राखेर माछा पाल्ने आधुनिक र वैज्ञानिक कृषि प्रणालीलाई भित्र्याएकोमा स्थानीयवासी हर्षित छन् । यसअघि जमिनमुनि पानी जमाएर प्राकृतिक वा कृत्रिम पोखरीमा माछा पालिएको मात्र देखिएको स्थानीय पत्रकार डम्बर बरालले बताए । उनले भने, “विदेशमा बस्दा उहाँले प्रविधि सिकेर आफ्नो देशमा भित्र्याउनुभएको छ, यो ज्यादै खुशीको विषय हो ।”

एउटै थलोबाट माछा, कुखुरा र बाख्रा पाल्ने आफूहरुको योजना रहेको दीपकले बताए । यो व्यवसायमा हालसम्म रु ६० लाख लगानी भइसकेको र आगामी दिनमा थप रु ६० लाख लगानी हुने उहाँहरुको भनाइ छ । उनीहरुले आफ्नो कमाइले भ्याएर लगानी गरेको होइन । विभिन्न बैँकबाट कर्जा लिएको बताए ।

पोखरी निर्माणमा जमिन खन्नु नपर्ने र एकपटक प्रयोग गरेको पानीले सधैँलाई पुग्ने हुँदा पानीको समेत बचत हुने उनीहरुले जानकारी दिए । पोखरी निर्माणमा आवश्यक पर्ने सामान भने चीनबाट आयात गरिएको छ । आगामी दिनमा थप २० वटा पोखरी निर्माण गर्ने शिवाकोटी दाजुभाइको योजना छ । आफ्नो एकल लगानीमा यति ठूलो कृषि फार्म सञ्चालन गर्दा सरकारी पक्षबाट भने कुनै सहयोग र प्राविधिक सेवा नपाएको उनीहरुको गुनासो छ । रासस