नयाँ वर्षमा पनि आएन राजनीतिमा नयाँपन

समयको प्रवाह आफ्नै गतिमा अगाडि बढिरहन्छ चाहे त्यससँगै कुनै सकारात्मक वा नकारात्मक घटनाहरू सिर्जना होऊन् । नेपालको वर्तमान राजनीतिक प्रवाह पनि यसरी एउटा नकारात्मक गति लिएर अगाडि बढिरहेको छ । तर, समयले त्यसलाई रोकेको पनि छैन र पर्खिएको पनि छैन ।

नयाँ वर्ष २०७८ सालले राजनीतिक गतिरोधको अन्त्य गरेर यसलाई सकारात्मक बाटोमा हिँडाउँछ कि भन्ने सोच पनि अब अन्यथा प्रमाणित भइसकेको छ । नेताहरूको सोचमा न त नयाँपन आएको पाइयो न त तिनलाई सद्बुद्धि नै कतैबाट प्राप्त भयो । नैतिकता भन्ने कुराको अलिकति मात्र पनि बोध तिनमा हुन सकेन । तिनीहरू न त फुट्न डराए न त जुट्न लाज माने । प्रजातन्त्रको सबैभन्दा नकारात्मक पाटोका रूपमा यसलाई दृष्टिगोचर गर्न सकिन्छ ।

माले र माक्र्सवादी जुट्यो एमाले भयो र त्यो फुटेर माले र एमालेमा विभाजन भयो । एकले अर्काको सत्तोसराप गरे र बापबैरीजस्ता बने तर मिल्न कुनै अप्ठ्यारो मानेनन् । त्यही एमालेसँग माओवादी मिसिएर बनेको नेकपा अहिले फेरि विभाजित अवस्थामा छ । एमालेभित्रै रहेका शक्तिहरू पार्टी एक भएर पनि विचारमा विविध छन् ।

ओली एमालेले नेपाल एमालेका ३२ जना नेतासँग स्पष्टीकरण सोधेको अवस्था छ अहिले । सोध्ने पक्षको भित्री चाहना आफूलाई तिनले सहयोग गरेनन् र तिनलाई आफ्नो समर्थक बनाउन पाए हुन्थ्यो भन्ने नै हो । कसैले पनि आफ्ना समर्थकलाई स्पष्टीकरण सोध्दैन, कारबाही गर्दैन । आफ्नो वरिपरि ती घुमिरहून् भन्ने चाहनाकै एउटा डण्डा हो स्पष्टीकरण।

अर्कातिर जुन पक्ष सरकारी एमालेको विरोधमा छ त्यसको विरोधको लक्षार्थ पनि आपूmलाई उनीहरूले मान राखेनन्, भाग लगाएनन् र पुछेनन् भन्ने नै हो । किनभने मान्छे मान खोज्ने जात हो र मान नपाएपछि कि लडेर मान लिन्छ कि भत्काएर काम नलाग्ने बनाउँछ कि आफैं पलायन हुन्छ । अहिले आफैं पलायन हुन नचाहने र अरू दुई अवस्थाका लागि लडिरहेका दुई शक्तिबीचको टकरावका कारण अन्य पार्टी र जनता च्यापिएका छन्, थिचिएका छन् ।

पार्टी प्रणालीको अभ्यास हुन थालेपछि नेपालका प्रायः सबै पार्टीको फुट र जुटको इतिहास हेर्दा हिजो र आजका दिनसम्म पनि लडाइँका मैदानका उत्रिएर एकअर्काको विरोधमा सत्तोसराप गरिरहेका पार्टीहरू भोलि मिलेर एकअर्काको हात समातेको दृश्य टेलिभिजनमा देखियो भने पनि त्यसलाई आश्चर्य मान्नुपर्ने नहुन सक्छ ।

किनकि राजनीति एकातिर फोहोरी खेल हो भन्ने गरिएकै हो, अर्कातिर यो स्वार्थको खेल पनि हो । आफ्नो पार्टी त फुटाए फुटाए । यो उनीहरूको चरित्रको प्रतिफल नै हो भनौं उनीहरूकै कारण अरू पार्टीहरूमा समेत चरक्क चिरा पर्ने गरेको पाइएको छ । वर्तमानको ताजा अवस्थालाई नै हेर्ने हो भने जनता समाजवादी पार्टीका चार शीर्ष नेता दुईजना एकातिर र दुईजना अर्कातिर लागेका छन् ।

यसले गर्दा उक्त पार्टी फुट्ने अवस्थामा पुगेको चर्चा हुन थालेको छ । महन्थ ठाकुर जो नेपाली कांग्रेसका वरिष्ठ नेता भइसक्नुभएको व्यक्ति, जसको चरित्र प्रजातान्त्रिक छ उहाँ हाल राजेन्द्र महतोलाई समेत लिएर एमालेको वर्तमान सरकारमा सामेल हुन खोजिरहनुभएको छ ।

यसैगरी कम्युनिष्ट पृष्ठभूमिका नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने सरकारमा सामेल नहुने विचारका साथ अघि बढिरहनुभएको छ । नेपाली कांग्रेसको नेतृत्वमा माओवादीसमेत संलग्न भएर सरकार बनाउनुपर्ने उहाँहरूको विचार छ । यसलाई आश्चर्य भन्नु कि राजनीतिक खेलको माखेसाङ्लो मान्नु भन्ने अवस्थामा नेपाली जनता छन् ।

एउटा पार्टीमा आएको विग्रहका कारण अरू पार्टीमा समेत त्यसको असर पर्ने र पार्टीहरू विभाजनको संघारमा पुग्ने गरेको ताजा उदाहरण हो यो । नेपाली कांग्रेसमा पनि नेकपाको विग्रहको प्रभाव परिरहेकै छ । कांग्रेसको एउटा पक्ष सरकारमा जानैपर्छ भन्छ भने अर्को पक्ष जानुहुँदैन, चुनावका लागि तयारी अवस्थामा रहनुपर्छ भन्दै आएको छ ।

यसरी यसले स्वस्थ छलफलको बाटो लिँदासम्म त त्यसलाई तर्कवितर्क, छलफल, सरसल्लाह भन्न सकिएला तर त्यसले जब मतमतान्तरको अवस्था सिर्जना गर्छ अनि त्यसलाई मनोमालिन्य वा मनमुटाव नै भन्नुपर्ने हुन्छ । यसले पार्टीमा अन्तरद्वन्द्व बढेर पार्टी विखण्डनको अवस्थामा पुग्दैन भन्ने अवस्था रहँदैन ।

त्यसैले एउटा पार्टीमा आएको विखण्डनले अरू सबै पार्टीमा समेत विखण्डनको सम्भावना निम्त्याउँदोरहेछ भन्ने देखिन्छ र अन्तत्वगत्वा यसबाट सिंगो देश नै प्रभावित बन्दोरहेछ । त्यसैले हालको राजनीतिक अन्यौलको अवस्थालाई छिट्टै हटाउनुपर्ने हुन्छ, नेताहरूले यसतर्फ सोचून् ।